भिडिओले उद्यमी बनायो प्रज्ञा उप्रेतीलाई, महिनामा १५ लाखसम्मको कारोबार

चार वर्षअघि प्रज्ञा उप्रेतीले अनलाइनबाट तीन वटा तन्ना किनेकी थिइन्। ती तन्ना सेट (बेडसिट) उनले घरका खाटमा चिटिक्क पारेर ओछ्याइन्। त्यसको भिडिओ बनाइन् र टिकटकमा राखिन्।

त्यो भिडिओ भाइरल भइदियो। अनि त्यसैले उनलाई व्यवसायी पनि बनायो।

‘यति राम्रा तीन वटा बेडसिट जम्मा १८ सय रूपैयाँमा किनेको भनेर बोल्दै भिडिओ खिचेर हालेकी थिएँ। धेरै जनाले रूचाए,’ प्रज्ञाले भनिन्, ‘मान्छेले किन्नै मागे। अनि थोरै नाफा खाएर तीन वटै बेचिदिएँ।’

उनलाई अरूले पनि त्यस्तै तन्ना ल्याइदिनू भनेर म्यासेज गर्न थाले। माग अनुसार उनले दस वटा तन्ना झिकाइन्। सबै फटाफट बिक्यो। झन् अर्डर आउन थाल्यो।

प्रज्ञाले तन्ना ल्याउने र बेच्ने क्रम बढ्दै गयो। एक दिनमै सय वटासम्मको अर्डर आउन थाल्यो।

यसरी घरमा नयाँ ल्याएको तन्ना देखाउँदै टिकटकमा राखेको एउटा भिडिओले सुनसरी, इटहरीकी प्रज्ञालाई व्यापारमा व्यस्त बनायो।

‘अर्डर बढ्दै गएपछि म तन्नाको व्यवसाय नै गर्ने निष्कर्षमा पुगेँ,’ उनले भनिन्।

त्यसै अनुसार २०७९ सालमा उनले ‘मनज्ञा आउटफिट’ नाम राखेर व्यावसायिक कम्पनी खोलिन्। श्रीमानसँग पनि सल्लाह गरिन् र उनीहरूले इटहरीस्थित आफ्नै घरको एउटा तला मनज्ञा आउटफिटका लागि छुट्ट्याए। यसपछि औपचारिक रूपमा व्यावसायिक यात्रा सुरू भयो।

‘अर्डर बढ्दै जाँदा बेडसिट दिने पसलले समेत धान्न नसक्ने स्थिति भयो। त्यसपछि थान कपडामै काम गर्ने सोच आयो,’ प्रज्ञाले भनिन्, ‘अनि घरमै सानो कारखाना सुरू भयो।’

managya-outfit8-1758710043.jpg
managya-outfit6-1758710041.jpg

तीन वटा तन्ना बेचेर सुरू भएको व्यवसाय करिब वर्ष दिनमै सानो उद्योग बन्यो। व्यापार बढ्दै गएपछि उनले कर्मचारी राखेर व्यवस्थित ढंगले व्यवसाय अघि बढाइन्। घरमै रहेको कारखानामा तन्ना र सिरानीको खोल बन्न थल्यो।

मनज्ञा आउटफिटमा कटन, पोलिस्टर–मिक्स, थाइल्यान्ड–कटन, पोलिस्टर–कटन लगायत विभिन्न कपडाको तन्ना बन्छ। प्रज्ञा यी कपडा सबै काठमाडौंका थोक बिक्रेताहरूबाट मगाउँछिन्। सिरानीको खोलसहित एउटा तन्नाको मूल्य सात सयदेखि ३२ सय रूपैयाँसम्म छ।

उनले तन्नाबाहेक गलैंचा, कार्पेट, कुसन, फाइबर सिरानी, झुल, सोफा, टेबलका कभर लगायत सामान पनि राखेकी छन्। यी सामान भने उनी चीनबाट मगाउँछिन्।

‘तन्ना मात्र दैनिक सरदर पाँच सय वटा बिक्री हुन्छ,’ प्रज्ञाले भनिन्, ‘अरू सामान समेत गरेर मनज्ञा आउफिटबाट मासिक १५ लाख रूपैयाँसम्मको व्यापार हुन्छ, ‘हामीले किफायती मूल्यमा नयाँ डिजाइनका राम्रा सामान ल्याउने भएकाले धेरैले रूचाउँछन्।’

हाल उनको कम्पनीमा नौ जना कर्मचारी छन्।

प्रज्ञा पेसाले स्वास्थ्यकर्मी हुन्। इटहरीकै एक स्वास्थ्य चौकीमा प्राविधिक सहायक अनमीका रूपमा कार्यरत छिन्। बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उनी स्वास्थ्य चौकीमै हुन्छिन्।

उनका अनुसार व्यापार उनको पार्टटाइम व्यवसाय हो।

‘जागिर चलिरहेकै थियो। व्यवसाय गर्छु भन्ने सोच नै थिएन। सामाजिक सञ्जालमा हालेको एउटा भिडिओले व्यवासायी बनाइदियो। अहिले जागिरपछिको पार्टटाइम काम भएको छ।’

managya-outfit5-1758710041.jpg
managya-outfit1-1758710038.jpg

अहिले उनका श्रीमान पनि यही व्यवसायमा जोडिएका छन्। धेरै काम श्रीमानले नै सम्हालिरहेको उनले बताइन्।

‘एउटी आमाका लागि जागिरसँगै व्यवसाय गर्नु चुनौतीको काम हो। मेरा पनि अप्ठ्याराहरू छन्,’ प्रज्ञाले भनिन्, ‘मैले श्रीमानको सहयोग पाएकी छु। उहाँको सहयोगले व्यवसाय राम्रो भएको छ।’

प्रज्ञाले सात महिनाअघि हेटौंडामा एउटा पसल खोलेकी छन्। त्यहाँको काम एक जना आफन्तले जिम्मा लिएका छन्।

अहिले भइरहेको माग पूरा गर्न मुस्किल भएकाले उनी उत्पादन बढाउने तयारीमा छिन्। चाँडै दैनिक कम्तीमा एक हजार तन्ना तयार गर्ने लक्ष्य छ।

करिब साढे तीन वर्षमा मनज्ञा आउफिटको उत्पादन र व्यापार विस्तार हुँदै गएको छ। सामाजिक सञ्जालको सदुपयोग गर्न सक्दा घरबाटै व्यवसाय चलाएर पनि राम्रो आम्दानी हुने रहेछ भन्ने उनलाई प्रस्ट भएको छ।

हालै उनले रामधुनी नगरपालिकाबाट उद्यमीका रूपमा सम्मान पनि पाइन्। यसले उनको हौसला बढेको छ।

‘अनलाइन व्यवसाय एउटा भरोसा हो। ग्राहकलाई जति भरोसा दिलाउन सकिन्छ त्यति नै व्यवसाय फस्टाउँछ,’ उनले भनिन्, ‘डिजिटल माध्यमको राम्रो सदुपयोग गर्न सक्दा काम खोज्न टाढा जानु पर्दैन। आफ्नै कोठामा बसेर पनि राम्रो आम्दानी गर्न सकिँदो रहेछ।’

managya-outfit4-1758710039.jpg

Purwanchal.com
Purwanchal.com
Articles: 42

Leave a Reply

Your email address will not be published. Required fields are marked *