६ प्लेटबाट १२ सय प्लेटसम्म: ‘उरी मःम’ ब्रान्ड बनाउने इभान गिरीको सफल यात्रा

Laxmi bank

चार वर्षअघि पहिलो पटक ६ प्लेट फ्रोजन मःमको अर्डर आउँदा इभान गिरीको खुसीको सीमा थिएन।

उनी झोलामा मःमका प्याकेट राखेर मोटरसाइकल चढे। अनि पुर्‍याउन भरतपुरको गोन्द्राङ पुगे। मःमको पैसा हात पर्दा उनलाई संसारै जितेझैं लागेको थियो।

किनकी त्यो उनी आफैले बनाएको मःम थियो।

१५ वर्ष दक्षिण कोरियामा मेहनत गरेर कमाएको पैसाले चितवनको भरतपुर–५ मा घर बनाएका थिए उनले। त्यही घरमा एउटा मःम बनाउने मेसिनको सेट र मःम राख्न तीन वटा डिप (चेस्ट) फ्रिजर जोडे।

त्यहाँबाट भएको उत्पादनलाई नाम दिए, ‘उरी मःम’।

चार वर्ष अवधिमा उरी मःम ब्रान्ड बन्न थालेको छ। ६ प्लेट बेचेर व्यवसाय सुरू गरेका इभान अहिले दैनिक १२ सय प्लेटसम्म मःम बेच्छन्। 

तनहुँको रिसिङमा मध्यमवर्गीय परिवारमा जन्मे–हुर्केका उनी काठमाडौंमा स्नातक तह पढ्दै गर्दा सन् २००४ मा रोजगारीका लागि कोरिया गएका थिए।

त्यहाँ उनले खाना बनाउनेदेखि गाडी बनाउने कम्पनीसम्म काम गरे। त्यही क्रममा उनले नेपाल फर्किएर फ्रोजन मःम बनाउने उद्योग चलाउने सोच बनाएका थिए। 

Ncell

‘म मःमको पारखी हो। काठमाडौं बस्दा दिनहुँ खान्थेँ। त्यतिखेर एक प्लेटको २० रूपैयाँ पर्थ्यो। कोरियामा पनि खान छाडिनँ। बेला बेला मःम बनाउने उद्योग पुग्थेँ। त्यहाँ मेसिनले मःम बनाएर कोल्ड स्टोरमा राखिन्थ्यो अनि बजार पठाइन्थ्यो,’ इभानले भने, ‘नेपालमा हातले बनाएको मात्रै देखेको थिएँ। यस्तो मेसिन नेपालमा पनि लैजान पाए हुन्थ्यो भन्ने लाग्थ्यो।’

१५ वर्षपछि उनी नेपाल आए। बिहे गरे, घर बनाए। त्यतिखेर उनले मःम वा पेपर–कपमध्ये एकको उद्योग चलाउने सोचेका थिए।

uri-momo9-1765121979.jpg

त्यत्तिकैमा देशमा कोरोना महामारी सुरू भयो। महामारीले सबैतिर अस्तव्यस्त हुँदा उनले मःम उद्योग खोल्ने निधो गरे। संस्था दर्ता गरेपछि २०७८ भदौ २० गतेबाट उरी मःमको उत्पादन सुरू भयो।

इभान लामो समय कोरिया बसेर काम गर्दा त्यहाँका नागरिकले गरेको सहयोग, उनीहरूको व्यवहारबाट प्रभावित छन्। त्यही आत्मीयता दर्साउने गरी आफ्नो उद्यमको नाम नै कोरियन भाषामा ‘उरी’ राखे।

उरीको अर्थ ‘हाम्रो’ हो।

सुरूआती दिनमा इभानलाई मःम बनाउन श्रीमती रक्षाले सघाइन्। दुई जना मिलेर बिहान–बेलुका मःम बनाउँथे। इभान मःम बोकेर बजार डुल्थे।

‘म झोलाभरि मःमका प्याकेट बोकेर बजार डुल्थेँ। पसलेहरूलाई आफ्नो कथा भन्थेँ र फ्रोजन मःमबारे बुझाउँथेँ। धेरै जसोले राम्ररी बुझेका थिएनन्, बासी भन्ठान्थे,’ उनले भने, ‘कतिपयलाई उद्योगमै बोलाएर देखाएपछि विश्वास मान्न थाले। कोहीले विदेशमा सिकेर आएको केटो रहेछ भनेर, कोहीले साहु आफै आएछ भनेर किनिदिए।’

uri-momo13-1765121981.JPG

करिब दुई वर्ष उनी यसरी नै आफै बजार दौडिए। यसबीच हावाहुरीले लामो समय विद्युत अवरूद्ध हुँदा उनले उत्पादन गरेको करिब ७ लाख रूपैयाँ बराबरको मःम खेर गयो। त्यसपछि भने उरी मःमको बजार बढ्दै गएको हो।

उरी मःमबारे सञ्चार माध्यम, सामाजिक सञ्जालहरूमा प्रचार हुन थाल्यो। अनि बिस्तारै होटल, रेस्टुरेन्ट, पसल र उपभोक्ताले फ्रोजन मःमबारे बुझ्दै गए।

अचेल उरी मःम उद्योगमा १५ जनाले काम गर्छन्। उनीहरूलाई बजार मागअनुसार भेज, चिकेन र बफ मःम तयार गर्न भ्याइनभ्याइ हुन्छ।

चिकेन मःम प्रायः लाम्चो आकारको हुन्छ तर उनले मेसिनबाट गोलो बनाएर बेच्छन्। त्यही गोलो चिकेन मःम उरी मःमको पहिचान बन्नेमा इभान विश्वस्त छन्।

uri-momo14-1765121981.JPG

तीन वटा डिप–फ्रिजरबाट सुरू भएकोमा अहिले १० वटा पुगेका छन्। बिजुली नभएका बेला चलाउन जेनेरेटर जोडिएको छ। इभानले घरमै पाँच टन क्षमताको कोल्ड स्टोर पनि बनाएका छन्।

‘१५ लाख रूपैयाँमा सुरू गरेको मःम उद्योगको लगानी अहिले एक करोड नाघेको छ,’ उनले भने।

यहाँ उत्पादन भएको मःमको मुख्य बजार चितवन नै हो। यसबाहेक मकवानपुर, नवलपुर, तनहुँ, गोरखा, रुपन्देही, पाल्पा र काठमाडौंसम्म पुग्छ। सबभन्दा बढी माग चिकेन मःमको छ।

अन्य जिल्लाबाट पनि माग भइरहेको तर अहिले सबैतिर पुर्‍याउन नसकेको इभानले बताए। बिस्तारै क्षमता बढाउने र सबैतिर पुर्‍याउने उनले सोचेका छन्।

हाल उरी मःमको भरतपुर–२५ शुक्रनगरमा डिलर छ। छिट्टै बुटवल र दमौलीमा डिलर सुरू गर्न लागेको जानकारी इभानले दिए। 

इभानका अनुसार फ्रोजन मःम असाध्यै संवेदनशील हुन्छ। यसका लागि तापक्रम व्यवस्थापन गर्न सजिलो छैन। कतिपय मान्छेलाई फ्रोजन भनेको बरफमा राखेको सामान हो भन्ने छ। तर त्यति मात्रै कुराले फ्रोजनको मापदण्ड पूरा हुँदैन।

‘तापक्रम, गुणस्तर, स्वाद, सही प्याकेजिङजस्ता धेरै कुरा विचार गर्नुपर्छ,’ उनले भने।

मानव स्वास्थ्यसँग जोडिएको कुरा भएकाले उत्पादन क्रममा स्वच्छतामा धेरै ध्यान दिने उनको भनाइ छ। यही कारण उपभोक्ताले उरी मःम मनपराएका उनले बताए।

वैदेशिक रोजगारीमा गएर, फर्किएर आफ्नै उद्योग चलाउन पाउँदा आफू निकै सन्तुष्ट भएको उनी बताउँछन्।

‘कोरियामा महिनाको तीन/चार लाख रूपैयाँ कमाइ हुन्थ्यो। काम पनि सजिलो थियो तर आफ्नै देशमा केही गर्छु भनेर सबै छाडेर फर्किएँ,’ ३९ वर्षीय इभानले भने, ‘कोरियामा जसरी धेरै पैसा बचाउन नसके पनि भरपुर सन्तुष्टि मिलेको छ। परिवारसँगै बसेर उद्यमी बन्न पाएको छु। उरी मःमको साहु भनेर चिनिएको छु। यो नै ठूलो कुरा हो मेरा लागि।’

uri-momo10-1765121979.JPG
uri-momo12-1765121980.JPG
uri-momo11-1765121979.JPG

साभार : सेतोपाटी डटकम, राजेश घिमिरे, २०८२ मंसिर २२

Purwanchal.com
Purwanchal.com
Articles: 40

Leave a Reply

Your email address will not be published. Required fields are marked *