राजदुवालीमा रमिता छ

२१ कात्तिक, विराटनगर । साहित्यकार इन्द्रबहादुर राईको ‘आज रमिता छ’ उपन्यासको शीर्षकसँग मिल्दोजुल्दो घटना भएको छ, इलामको राजदुवालीमा । आइतबार यता राजदुवालीकै दृश्यले सामाजिक सञ्जाल तातेको छ ।

गत १८ असोज राति आएको बाढी र पहिरोका कारण राजदुवाली सडकखण्ड अन्तर्गत माइखाेलाको किनार क्षत–विक्षत भयो । पहिरोले अवरुद्ध सडक मर्मत गरी आवतजावत खुला गरियो । त्यही सडक खण्डमा भेटिएको शिला (ढुङ्गा)का कारण राजदुवाली यतिबेला चर्चामा छ । सामाजिक सञ्जाल तरंगित छ ।

इलाम नगरपालिका-४ की २३ वर्षीया प्रमिला कार्कीले सपनामा सो स्थानमा पाँचवटा शिला देखेको भन्दै स्थानीयले आएर उत्खनन गरे । रूखले थिचिएको स्थानमा उत्खनन् गर्दा उनले भनेअनुसार नै पाँच वटा शिला भेटिए ।

उत्खननअघि उनले पूजा गरेकी थिइन् । उत्खनन गरेको र पूजा गरेको भिडियो सामाजिक सञ्जालमा हालेपछि भाइरल भयो । स्थानीयको दाबीअनुसार प्रमिलाको शरीरमा देवी उत्रिएकी छिन् । देवी उत्रिएको र उनले भनेको स्थानमा ढुंगा भेटिएपछि देउता रहेको भन्दै पूजाआजा भयो ।

पाँच वटा शिलालाई घरमा लगेर पूजा गर्ने कार्कीले बताएकी थिइन् । घर लैजाने तयारी चल्दै गर्दा एक जना वृद्ध आएर खोलाको ढुंगा भन्दै विरोध गरे । उनले शिलामा कुल्चिए । त्यसपछि माईखोलाको किनारमा भेट भएकाहरू बीच वादविवाद चल्यो । यो वादविवादको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भयो ।

Rajduwali Ilam Shila
खोला किनारमा खन्दा भेटिएका पाँचमध्ये एउटा ढु‌ङ्गा । त्यहाँ स्थानीयले पूजा गर्दै आएका छन् । फोटो : रमेश बुढाथोकी/फेसबुक

वृद्धको भिडियोपछि अहिले पवित्रा र अन्य व्यक्तिको भिडियो फेरि भाइरल भयो । हरेक दिन नयाँ माता र धामीझाँक्री सो स्थानमा पुगिरहेका छन् । शिला निकालेर लैजान डोजर प्रयोग गर्दा सर्प निस्किएको विषयले पनि सामाजिक सञ्जाल तातेको छ ।

इलाम नगरपालिका-९ का वडाध्यक्ष गोपाल चौहानका अनुसार शिला उत्खनन गरिएको स्थानमा अहिले झापा र इलामसँगै भारतको सिक्किमबाट पनि माताहरू आएका छन् ।

‘प्रमिला कार्कीले सपनामा देखेपछि आएर खन्दा पाँच वटा शिला भेटियो, अहिले झापाबाट इलामबाट आएर बकिरहनुभएको छ’ उनले भने, ‘आज त झन् ठूलो भीड छ, सिक्किमबाट पनि आएर बकिरहनुभएको छ ।’

Pramila Karki 1
प्रमिला कार्की । फोटो : रमेश बुढाथोकी/फेसबुक

प्रमिलाले सपनामा देखेका पाँच शिलामध्ये एउटा उनले उत्खनन गरेकै दिन लिएर गइन् । तीन वटा शिला खाल्डोबाट बाहिर निकालिएको छ । एउटा ठूलो शिला खाल्डो भित्रै छ, खाल्डोमा भएको शिला बाहिर निकाल्न डोजर प्रयोग गर्दा सर्प देखिएको थियो । सर्प देखिएपछि स्थानीयले निकाल्न दिएनन् ।

‘शिला त्यहीं राख्ने कि लैजाने भन्ने विषयमा तपाईंहरू मिल्नुहोस्, पालिकाले सहजीकरण गर्छ भनेका छौं’ वडाध्यक्ष चौहानले भने, ‘हामीले केही भनेका छैनौं, उहाँहरूको (धामी झाँक्री) विषय हो ।’

अहिले राजदुवाली खण्डमा भीडभाड बढ्दो छ । नयाँनयाँ माता र धामी देखिइरहेको उनी बताउँछन् ।

इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल विपद् व्यवस्थापनमा ध्यान दिनुपर्ने भएकाले राजदुवालीमा देखिएको पछिल्लो घटनाका बारेमा जानकारी नभएको बताउँछिन् । ‘म विपद्पछिको व्यवस्थापनको काममा केन्द्रित छु । त्यहाँ ध्यान दिन पाएको छैन’, उनले भनिन् ।

इलाम नगरपालिकाका मेयर केदार थापा पछिल्लो घटनाक्रमले अचम्मित छन् । शिला भेटिएको भनिएको दोस्रो दिन घटनास्थल पुगेका उनी के गर्ने भन्ने अन्योलमा छन् ।

‘माताले सपनामा देखेको भनेपछि उत्खनन गर्दा भनेअनुसार नै रूखले किचेको अवस्थामा शिला भेटियो । खोलापट्टि टिनको पाताले छेकेको पनि थियो’ उनले भने, ‘अहिले लाने कि त्यहीं राख्ने भन्ने अन्योल छ ।’

आइतबार उत्खनन गरिएको स्थानमै शिला राख्नुपर्ने एउटा पक्षको भनाइ छ । अर्को पक्ष लैजानुपर्ने पक्षमा छ । ‘अस्ति प्रमिला माताकोमा लैजाने भनेर ट्याक्टर, डोजर पठाएको हो, तर मिलेन’ मेयर थापाले भने, ‘माताहरूको विषयमा पालिकाले केही गर्न मिलेन ।’ हरेक दिन राजदुवाली क्षेत्रमा भीडभाड बढिरहेको उनले बताए ।

शिला कुल्चिने राप्रपा इलामका नेता निलम्बित

प्रमिला कार्कीले राजदुवालीमा भेटिएका पाँचैवटा शिला घर लैजाने तयारी गर्दैगर्दा वादविवाद गर्ने व्यक्ति थिए, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इलामका नेता यमनाथ भण्डारी । राप्रपा इलाम क्षेत्र नम्बर २ (क) का क्षेत्रीय सदस्य भण्डारीले शिला कुल्चिनुका साथै मातालाई धकेलेको भिडियोमा देख्न सकिन्छ ।

Yamnath Bhandari RPP Ilam
शिला कुल्चिएको र प्रमिला कार्कीलाई धकेलेको भन्दै राप्रपा इलामका नेता यमनाथ भण्डारी निलम्बनमा परेका छन् ।

राप्रपा जिल्ला कार्यसमिति इलामले धार्मिक सहिष्णुतामा विखण्डन ल्याउने कार्य गरेको भन्दै भण्डारीलाई पार्टीबाट निलम्बन गरेको छ ।

राप्रपा इलामले सूचना जारी गर्दै जात-धर्मबीचको एकतामा खलल पुर्‍याउने कार्य गरेकोले भण्डारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको जनाएको छ ।

‘तपाईंले गर्नुभएको हर्कत अत्यन्तै अशोभनीय, अमर्यादित र अमानवीय देखियो । गल्ती महसुस गरी आत्मालोचनासहित क्षमायाचना गर्न तयार हुनुभएन । त्यसैले पार्टीबाट निलम्बन गरिएको छ’, सूचनामा उल्लेख छ ।

भण्डारी २०७९ सालको आम निर्वाचनमा राप्रपाका तर्फबाट इलाम-२ (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार समेत थिए ।

साभार : अनलाइन खबर, हरि अधिकारी, २०८२ कात्तिक २१ गते शनिबार

Purwanchal.com
Purwanchal.com
Articles: 22

Leave a Reply

Your email address will not be published. Required fields are marked *