ललितपुरमा खुलेको ओन्सी सुसी: बेल्जियमबाट नेपाल फर्केका सच्चा कार्कीको जापानी स्वाद यात्रा

करिब दुई महिनाअघि ललितपुरको कृष्ण मन्दिर पछाडिको म्वःमदु गल्लीमा सानो रेस्टुरेन्ट खुल्यो।

यसै साता ललितपुरको झम्सिखेलमा पनि त्यस्तै रेस्टुरेन्ट देखियो।

यी दुवै रेस्टुरेन्टको नाम हो — ओन्सी सुसी।

नामैले थाहा हुन्छ, यो जापानी खानेकुरा सुसी पाइने ठाउँ हो।

दुवै रेस्टुरेन्टका सञ्चालक हुन् ४० वर्षीय सच्चा कार्की।

यहाँ तीन थरी सुसी पाइन्छ — फुतोमाकी (ठूलो रोल), होसोमाकी (सानो रोल) र फ्राई रोल (तारिएको फुतोमाकी)।

यी सुसी भेज, अन्डा, चिकेन, चीज, टुना, सामन (माछा) र क्र्याब (गंगटा) को स्वादमा पाइन्छ।

यसबाहेक यहाँ ओनिगिरी पनि पाइन्छ। यो भनेको चिकेन, अन्डा, चीज वा सामन लगायत राखेर बनाइएको त्रिकोण आकारको परिकार हो।

‘जापानमा सुसी भनेको भातमा माछा राखेर खाने हो। तर सबैलाई माछाको गन्ध मन नपर्ने भएकाले विभिन्न स्वादमा बन्न थालेको हो,’ सच्चाले भने, ‘सुसी बेर्ने सिविड, भित्र हाल्ने खानेकुरा तयार गर्ने तरिका पनि फरक हुन्छ। यही कारण ठाउँ अनुसार सुसीको स्वाद फरक हुन्छ।’

उनले थप भने, ‘जसरी मःम अचारले मिठो बनाउँछ, सुसी भातमा राखिने ससले फरक पार्छ। यसमा चिनी, नुन, भिनेगर र अन्य विभिन्न कुराहरू राखिन्छ। यो हरेक रेस्टुरेन्टको फरक हुन सक्छ।’

onshi-sushi2-1770307651.jpeg
onshi-sushi7-1770307652.jpeg

सुसीसँग सोया सस, अदुवा र वासाबी खाइन्छ। वासाबी भनेको एक प्रकारको बिरूवा हो। त्यसको जरा वा हाँगा पिसेर बनाइएको पेस्ट पिरो हुन्छ।

ओन्सी सुसीमा स्वाद अनुसार एक सय ५० देखि पाँच सय रूपैयाँसम्मको परिकार पाइन्छ। 

यहाँ जापानको प्रख्यात मिसो सुप पनि पाइन्छ। यसमा तोफु, सिविड, प्याज र मिसोको पेस्ट राखिएको हुन्छ। मिसो भनेको भटमास, नुन र कोजी नामको फंगसको मिश्रणबाट बनाइएको मसला हो।

ओन्सीमा कोरियनहरूले अचारका रूपमा खाने किम्ची पनि पाइन्छ। किम्ची सच्चा आफै बनाउँछन्।

‘आजभोलि नेपालमा सामान पाउन धेरै सजिलो छ। त्यसैले आफै बनाउन सकिन्छ। तर हरेक पटक मूल्य बढ्ने समस्या देखिएको छ,’ सच्चाले भने।

हाल दुवै ओन्सी पसल साना छन्। दुवैमा आठ–आठ जना ग्राहक अटाउँछन्। त्यसैले यहाँ टेक–अवे (प्याक गरेर लैजाने) सुविधा दिइएको छ।

पसलमा ठाउँ साँघुरो भएकाले सामानको भण्डारण जावलाखेलस्थित आफ्नै घरमा गर्छन्।

‘भनेजस्तो फराकिलो ठाउँ पाइयो भने पसल खोल्ने सोच छ,’ उनले भने।

सच्चाले यहाँ भर्खरै ओन्सी खोले पनि सुसी बनाउन धेरै पहिले सिकेका हुन्। त्यो पनि युरोपेली मुलुक बेल्जियममा।

उनी काठमाडौंमा स्नातक तह पढ्दापढ्दै डेनमार्क गएका थिए। त्यहाँ एक वर्ष पढेर २०६३ सालमा बेल्जियम पुगे। उनका आमाबुबा बेल्जियममै थिए।

onshi-sushi4-1770307651.jpeg
onshi-sushi5-1770307651.jpeg

फोटोग्राफीमा रूचि भएकाले उनले बेल्जियममा यसै सम्बन्धी पढाइ गरे। यसैलाई व्यवसाय बनाउन चाहन्थे। काम पनि गरे तर आम्दानी सन्तोषजनक लागेन। उनी रेस्टुरेन्टहरूमा काम गर्न थाले। कहिले भान्सामा सहयोगी (किचन हेल्पर) त कहिले वेटर भए। करिब १३ वर्ष धेरै वटा रेस्टुरेन्टमा काम गरे।

यो क्रममा उनले सेफहरूसँग कुरा गर्दै, हेर्दै विभिन्न परिकार बनाउन सिके। त्यसमध्ये बेल्जियन चकलेट र जापानी सुसी बनाउन उनी पोख्त भए।

बेल्जियममा उनका आमा, बुबा, बहिनी, बहिनी ज्वाइँ, श्रीमती, छोरी सबै थिए। बसाइ र काम राम्रो थियो। तर उनलाई विदेश बसाइले सन्तुष्टि दिएन।

छोरीलाई स्कुल पठाउने बेलामा सच्चा र श्रीमती सोफीले धेरै सोचे, छलफल गरे। अन्ततः नेपाल फर्किने र छोरीलाई यतै पढाउने निधो गरे।

२०७६ सालमा सच्चा सोफी र छोरीका साथ नेपाल फर्के। परिवारका अरू सदस्य उतै छन्। उनीहरू बेल्जियममा ओन्सी सुसी नामकै रेस्टुरेन्ट चलाउँछन्।

‘जापानी शब्द ओन्सीले सम्माननीय गुरू भन्ने बुझाउँछ,’ उनले भने।

सच्चाले बेल्जियममा चकलेट बनाउने तालिमको डिप्लोमा कोर्स गरेका थिए। चकलेट बनाउने सीप भएका र बेच्ने व्यक्तिलाई ‘चोकोलेटियर’ भनिन्छ। त्यसैले पेसाले उनी ‘चोकोलेटियर’ हुन्।

उनले नेपालमा चकलेटकै व्यवसाय गर्ने सोचे र सुरू गरे ‘चोकोफल’। चोकोफलको आफ्नो भौतिक पसल छैन। तर स्टोर तथा मार्टहरूमा र ओन्सी सुसीमा पाइन्छ। अनलाइन अर्डर गर्न पनि सकिन्छ। बिहे, जन्मदिन, वर्षगाँठ जस्ता उत्सव तथा अवसरका लागि ग्राहकको माग अनुसार यसले चकलेटको उपहार समेत तयार गरिदिन्छ।

onshi-sushi6-1770307651.jpeg
onshi-sushi8-1770307652.jpeg

‘मलाई पहिल्यैदेखि सुसी पसल खोल्ने मन थियो तर सुरूमा चकलेटकै काम सुरू गरेँ। त्यसपछि केही समय फुर्सद भएन,’ सच्चाले भने, ‘अहिले चोकोफल एक बाटोमा लागिसकेको छ। त्यसैले समय मिलाउन सकियो।’

उनले म्वःमदु गल्लीमा एक साथीको रेस्टुरेन्टकै तल ठाउँ पाए र करिब १० लाख रूपैयाँ लगानीमा ओन्सी सुसी खोले।

नेपाली युवाहरू सुसीसँग परिचित भइसकेको र बाक्लो आउजाउ हुने ठाउँ भएकाले रेस्टुरेन्ट सुरूदेखि नै राम्रो चल्यो। सामाजिक सञ्जालमार्फत् पनि यसको प्रचार भयो। अहिले स्थानीयहरू पनि यहाँका ग्राहक बनिसकेका छन्।

म्वःमदु गल्लीमा ओन्सी खोलेको दुई सातापछि उनले झम्सिखेलमा ठाउँ पाए र हालै यहाँ पनि सुरू गरेका हुन्। दुवै रेस्टुरेन्ट दिउँसो १२ बजेदेखि राती ८ बजेसम्म रेस्टुरेन्ट खुल्ला हुन्छन्।

अहिले यी दुई रेस्टुरेन्टमा दुई–दुई जना कर्मचारी छन् जसलाई उनले रेसिपी सिकाएका छन्।

‘रेस्टुरेन्टको खानेकुरा भने पनि सुसी हामीले खाने भात जस्तै हो। म पनि दिनकै जस्तो खाइरहेको हुन्छ,’ सच्चाले भने, ‘यो स्वस्थकर परिकार हो। अहिले नेपालमा साना केटाकेटीदेखि नै यसका पारखीहरू देखिएका छन्।’

onshi-sushi11-1770307654.jpeg

साभार : सेतोपाटी डटकम, आर्या श्रेष्ठ, काठमाडौं, २०८२,  माघ २३, शुक्रबार

Purwanchal.com
Purwanchal.com
Articles: 42

Leave a Reply

Your email address will not be published. Required fields are marked *