नेपालमै बनेको लप्सी चकलेट ट्रफल : दीक्षा र विवेकको सफल उद्यमशीलता कथा

Tata box 1

तपाईंहरूले लप्सीको अचार, तितौरा, क्यान्डी, धूलो त खानुभएकै होला?

चकलेट खानुभएको छ? त्यो पनि नेपालमै बनेको?

छैन भने ‘लप्सी ट्रफल’ चाख्न सक्नुहुन्छ।

दीक्षा पौडेल र विवेक रानाले लप्सी र चकलेटको मिश्रणबाट लप्सी ट्रफल बनाएका छन्। चकलेटभित्र लप्सीको क्यान्डी राखेर बनाइएको यसको स्वाद हुन्छ — अमिलो र गुलियो।

‘हामीले नेपालमै पहिलो पटक लप्सी ट्रफल बजारमा ल्याएका हौं,’ दीक्षाले भनिन्।

Laxmi bank

उनीहरूले दुई वर्षअघि लेकबेसी ब्रान्ड नाममा लप्सी ट्रफल बजारमा ल्याएका हुन्। लेकबेसी ब्रान्डमा लप्सी क्यान्डी र धूलो (पाउडर) पनि पाइन्छ. यी उत्पादनबाट वार्षिक ६० लाख रूपैयाँभन्दा बढीको कारोबार भइरहेको छ।

लप्सी ट्रफल दुइटा प्याकेटमा पाइन्छ। ठूलो प्याकेटमा १५ वटा हुन्छ जसको मूल्य ३ सय ३० रूपैयाँ पर्छ। सानोमा ९ वटा हुन्छ जुन २ सय रूपैयाँमा पाइन्छ।

‘हामीले लप्सी ट्रफल बजारमा पुर्‍याउन धेरै समय खर्चियौं। त्यस कारण अहिले राम्रो प्रतिफल छ,’ विवेकले भने, ‘अहिले यो उत्पादन विदेश पनि पुग्छ।’

lapsi-1765998329.png
Ncell


काभ्रेकी दीक्षा र भक्तपुरका विवेक श्रीमान–श्रीमती हुन्। व्यवसाय गर्नुअघि दुवै साँगामा शिक्षण पेसामा आवद्ध थिए।

दीक्षाले ग्रामीण विकास विषय पढेकी हुन् भने विवेकले व्यवस्थापन।

‘सधैं पढाएर हुँदैन, सामाजिक र व्यावसायिक यात्रा पनि अगाडि बढाउनुपर्छ भनेर हामीले कोसिस इन्टरप्राइजेज नामक संस्था खोल्यौं,’ दीक्षाले भनिन्, ‘त्यसैमार्फत् थुप्रै समाजमा पुगेर तालिम दियौं।’

उनीहरूले महिलाहरूलाई उद्यमशीलतामा ल्याउन अचार, हस्तकला, केचप बनाउने लगायत तालिम दिए। तर उद्यममा आउने कोही भएनन्। यसपछि उनीहरू आफै उद्यममा लाग्ने निधो गरे।

२०७९ सालमा उनीहरूले ५ लाख रूपैयाँ लगानी गरे र नमूना एग्रो प्रडक्ट कम्पनी दर्ता गरे। बनेपामा जग्गा भाडा लिए र उद्योग बनाए। तर यति बेलासम्म बजारमा के उत्पादन लैजाने भन्ने टुंगो थिएन। 

उनीहरूले केही समय बजार बुझे।

‘हाम्रो गाउँघरमा धेरै फल्ने लप्सी नेपालमा मात्र पाइने फल हो। यसमै केही नयाँ गरौं भन्ने लाग्यो,’ दीक्षाले भनिन्।

उनीहरूले सिन्धुपाल्चोक र काभ्रेबाट लप्सी संकलन गरे। चकलेटभित्र लप्सी राख्दा कस्तो स्वाद होला भन्ने कुतूहलता थियो। उनीहरूले एक रेसिपीमा बनाएर चाखे, मिठो भयो।

dikshya-bivek1-1765996663.jpg

उनीहरूले यसलाई बजार पुर्‍याउने सोचे। नयाँ स्वाद भएकाले बेच्न धेरै मेहनत गरे। व्यापार मेला, महोत्सवमा स्टल राखेर एक वर्षसम्म लप्सी ट्रफल चखाउँदै हिँडे।

यसरी सुरू भएको लेकबेसीको लप्सी ट्रफल विदेश पनि पुगिसकेको छ। 

‘बाहिर पठाउन अहिले ठूलो मात्रामा बनाइरहेका छौं,’ विवेकले भने, ‘तर अझै पनि बजार माग पुर्‍याउन हम्मे परेको छ।’

उनीहरूको उद्योगमा १० जनाले काम गर्छन्।

सबै कुरा हातले बनाउने भएकाले एकै पटक ठूलो मात्रामा बनाउन नसकेको उनी बताउँछिन्।

उनीहरू सिजनमा धेरै लप्सी ल्याउँछन् र बियाँ निकालेर भण्डार गर्छन्। अघिल्लो वर्ष दस टन लप्सी ल्याएका थिए। यसपालि बीस टन ल्याएका छन्। 

लेकबेसीका उत्पादन हाल अनलाइनबाट मगाएर वा ‘मुना बजार’ वा ‘उद्यमी घर’ मा किन्न पाइन्छ। छिट्टै भाटभटेनी तथा अरू मार्टमा पनि लैजाने उनीहरूको योजना छ।

‘आगामी दिनमा नयाँ र फरक उत्पादन ल्याउने योजना छ,’ दीक्षाले भनिन्, ‘आफ्नै बगैंचामा लप्सी फलाउने सपना पनि छ।’ 

साभार : सेतोपाटी डटकम, सविना कार्की, काठमाडौं, २०८२ पुस ३, बिहीबार

Purwanchal.com
Purwanchal.com
Articles: 42

Leave a Reply

Your email address will not be published. Required fields are marked *