नेपालका प्रधानमन्त्रीले वा राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिसँग हात मिलाएका तस्वीर देख्नुहुन्छ ? पक्कै देख्नुभएको छ । पछिल्ला २३ वर्षयताका त्यस्ता भेटमा देखिएका अमेरिकी राष्ट्रपति र प्रथम महिलासँग हात मिलाइएका तस्वीर त देखिन्छन् । तर, ती तस्वीर औपचारिक दुईपक्षीय भेटका होइनन् । सबै संयुक्त राष्ट्रसंघमा प्रतिनिधित्व गरेर जाँदा लाइन लागेर न्यु योर्कमा खिचाइएका तस्वीर हुन् । नेपालमा सबैभन्दा पछिल्लोपटक राष्ट्रपति तहमा भेट गर्ने नेता शेरबहादुर देउवा हुन् ।
-1768222655.jpg)
उनले २४ वैशाख २०५९ मा अमेरिकाको भ्रमणमा तत्कालीन राष्ट्रपति जर्ज डब्लू बुससँग भेट गरेका थिए । नेपालको माओवादी मुद्दा समाधानमा अमेरिकी साथ लिन देउवाको बुससँग भेट भएको थियो । देउवाभन्दा अगाडि त्यसरी भेट गर्ने प्रधानमन्त्री बीपी कोइराला थिए ।
उनले २०१७ सालमा तत्कालीन अमेरिकी राष्ट्रपति आइजनआवरसँग औपचारिक भेट गरेका थिए । दुई प्रधानमन्त्रीबाहेक अमेरिकी राष्ट्रपति तहमा भेट्न अरु दुई राजा छन्, जसमा राजा वीरेन्द्र र राजा महेन्द्र हुन् । महेन्द्रले २०१७ वैशाख कात्तिक र २०२४ कात्तिकमा अमेरिका भ्रमण गरेका थिए । राजा वीरेन्द्रले भने २०४० मंसिरमा भ्रमण गरेका थिए ।
नेपालको संसदलाई अमेरिकी संसदले दिएको सुनको अक्षरको संकल्प प्रस्तावले माहौल बनाइएको भ्रमण
अमेरिका भ्रमण गर्ने नेपालका प्रथम अनुहार बझाङी राजा तथा मानवतावादी दार्शनिक जयपृथ्वीबहादुर सिंह थिए । उनी सन् १९३३ मा अमेरिका पुगेका थिए । देशको नेतृत्व तहबाट अमेरिका भ्रमण गर्ने प्रथम अनुहार राजा महेन्द्र हुन् । त्यसको संयोग २०१६ सालमा नेपालको प्रथम जननिर्वाचित संसद र सरकार बनेपछि जुरेको थियो ।
९ साउन २०१६ मा राजा महेन्द्रले तल्लो सदन र माथिल्लो सदन अर्थात् महासभालाई संयुक्त रूपमा सम्बोधन गरे । सम्बोधनमा तीन देशका कूटनीतिज्ञ थिए । भारतका भगवान सहाई, बेलायतका राजदूत लियोनार्ड स्कोप्स र अमेरिकाका चार्ज डि अफेयर्स विन्थ्रोप जी. ब्राउन थिए । राजा महेन्द्रको सम्बोधन सकिएपछि अमेरिकी कूटनीतिज्ञ ब्राउनले सुनको अक्षरले लेखेको एक पत्र दिए । त्यो पत्र अमेरिकाका दुवै सदनले नेपाल सदनको युगमा पुगेकोमा दिएको संकल्पको थियो ।
ब्राउनले त्यो सुनको अक्षरले लेखेको पत्र तल्लो सभाका सभामुख कृष्णप्रसाद भट्टराई र माथिल्लो सभा अर्थात् महासभाका अध्यक्ष डम्बरबहादुर सिंहलाई दिएका थिए । नेपालका राजा महेन्द्रको आगामी अमेरिका भ्रमणको सन्दर्भ पारेर यस्तो गरिएको थियो, जसको समाचार न्यु योर्क टाइम्सले नै बनाएको थियो ।
-1768222656.jpg)
त्यसको नौ महिनापछि राजा महेन्द्र अमेरिकाको भ्रमणमा गए । त्यो भ्रमणको महत्त्व धेरै छ । किनभने त्यो बेला नेपालको प्रथम जननिर्वाचित सरकारको प्रधानमन्त्रीको रूपमा बीपी कोइराला थिए । कोइराला क्याबिनेटका उपप्रधानमन्त्री तथा अर्थमन्त्री सुवर्णशमशेर राजा महेन्द्रसँगै अमेरिका भ्रमणमा थिए ।
यो तस्वीर हेर्नुहोस्, यहाँ अगाडि राजा महेन्द्र अमेरिकी राष्ट्रपति आइजनआवरसँग कुराकानी गर्दा पछिल्लो लहरमा छन्– शुवर्ण शमशेर र ऋषिकेश शाह । त्यो बेला शाह संयुक्त राष्ट्रसंघ तथा अमेरिकाका लागि नेपालका राजदूत थिए ।
वासिङ्टनको भव्य स्वागत, न्यु योर्क शहरमा तीन लाख स्थानीयको सत्कार

राजा महेन्द्रको त्यो बेलाको भ्रमणको रातो पासपोर्टले भन्छ– भ्रमण २५ अप्रिल १९६० बाट १५ जूनसम्म भएको थियो । त्यो भनेको १३ वैशाख २०१७ बाट २ असारसम्म भएको थियो । औपचारिक भ्रमण भने २७ देखि ३० अप्रिलसम्म भएको थियो । तीनमहिने भ्रमणमा अमेरिका प्रवेश गर्दा राजालाई १३ वैशाख २०१७ मा अमेरिकाको हवाईमा स्वागत गरिएको थियो । बिदाइ समारोह भने न्यु योर्कमा ३ असारमा गरिएको थियो ।

न्यु योर्कमा मात्रै ३ लाखले स्वागत गरेको अमेरिकाको राष्ट्रपति कार्यालयले त्यो बेला प्रकाशन गरेको फोटो किताबमा उल्लेख गरिएको छ ।

अमेरिकाको संघीय राजधानी वासिङ्टन डीसीमा महेन्द्र पुग्दा सडकमा नेपाली र अमेरिकी झण्डा बोकेका स्थानीयको भिडभाड थियो भने तुलव्यानरमा राजा महेन्द्रको स्वागत नेपालीमा लेखेर गरिएको थियो ।

राजा महेन्द्र सिकार खेल्न पनि गए । उनी क्यालिफोर्नियाको ह्वाइट माउन्टेनमा माउन्टेन लायनको सिकार गरे । महेन्द्रले फ्लोरिडाको मरिनल्यान्ड संग्रहालयमा पुगेर डल्फिनसँग खेले ।
अमेरिकाका दुवै सदनलाई संयुक्त सम्बोधन गर्ने प्रथम दक्षिण एसियाली नेता
अमेरिकाको तल्लो र माथिल्लो दुवैको सदनमा संयुक्त सम्बोधन गर्ने प्रथम दक्षिण एसियाली नेतृत्व पनि राजा महेन्द्र नै हुन् । अमेरिकामा बस्दा राजा महेन्द्रले अमेरिकी राष्ट्रपति आइजन आवरसँग भेट गरेका थिए । उनले अमेरिकाका दुवै सदनमा प्याकाप्याक भएर बसेका सदस्यहरूलाई सम्बोधन गरे ।
सम्बोधनमा अब्राह्म लिंकनको वाणी साभार गरेको र नेपाल तटस्थ देश हुने बताएका थिए । त्यो कुराले ताली बजेको खबर न्यु योर्क टाइम्सले नै लेखेको छ ।

कतिपले पाकिस्तानका राष्ट्रपति अमेरिकाको दुवै सदनमा बोल्ने प्रथम दक्षिण एसियाली नेता भएको दाबी गर्छन् । त्यो गलत हो । पाकिस्तानी राष्ट्रपति अयुव खानले सन् १९६१ मा सम्बोधन गरेका हुन् । राजा महेन्द्रले सन् १९६० मै गरेका थिए । दुई सदनमा छुट्टाछुट्टै सम्बोधन गर्ने प्रथम दक्षिण एसियाली नेता भने भारतका संस्थापक प्रधानमन्त्री जवाहरलाल नेहरू हुन् । उनले सन् १९४९ मा सम्बोधन गरेका थिए ।
विश्वविद्यालयमा महेन्द्रको सक्रियताः एउटामा सम्बोधन, अर्कोबाट कानुनको विद्यावारिधि
-1768222241.jpg)
राजा महेन्द्र अमेरिका जाँदा विश्वविद्यालयमा जोडिए । कतै विद्यार्थीलाई नेपाल ल्याउन सक्रिय भए भने कतै मानार्थ विद्यावारिधि ग्रहण गरे । ओरिगन विश्वविद्यालयका हजारौँ विद्यार्थीलाई सम्बोधन गरेका राजा महेन्द्रलाई डेट्रोइट विश्वविद्यालयको दीक्षान्त समारोहमा कानुनमा मानार्थ पीएचडी प्रदान गरिएको थियो ।

क्यालिफोर्नियाको क्लेयरमन्ट ग्राजुएट स्कुलमा पढ्दै गरेका भेषबहादुर थापालाई ‘नोट’ गरेर नेपाल ल्याएको पनि अमेरिका भ्रमणकै उपज थियो । थापाले आफ्नो आत्मकथा ‘राष्ट्र–परराष्ट्रमा’ यो कुरा उल्लेख गरेका छन् ।
पछि थापा नेपाल बोलाइएर राष्ट्रिय योजना परिषद्को सदस्यसचिव भए । पछि अर्थशास्त्र पढेका उनै थापा गभर्नरदेखि अर्थमन्त्रीसम्म भए । राजदूत भए । थापा नेपालका स्थापित कूटनीतिज्ञ हुनुमा महेन्द्रको त्यो अमेरिका भ्रमण एक प्रमुख कारण हो ।
अमेरिका भ्रमणको छ महिनामा बीपी सरकार पदच्यूतः किन बोलेन अमेरिका ?
अमेरिकाको भ्रमण सकाएको ठीक छ महिनापछि राजा महेन्द्रले नेपालको प्रथम जननिर्वाचित संसद भंग गरे । प्रथम जननिर्वाचित प्रधानमन्त्री मात्रै होइन, सिंगो क्याबिनेटलाई थुने । यसो हुनुमा जोड्न सकिने भ्रमणको अर्को रोचक पक्ष पनि छ । राजासँग अमेरिकामा हुनेहरूमा थिए ऋषिकेश शाह, जो पछि मन्त्री भए ।
राजाले बीपीलाई हटाएर आफ्नै अध्यक्षतामा बनाएको प्रथम सरकारकै मन्त्री बने शाह । सुवर्ण शमशेर पनि राजाले बीपीलाई थुन्नुभन्दा अगाडि कोलकाता उडे । राजाले थुन्लान् भन्ने भयले गएका हुन् वा होइनन्, त्यो प्रश्नकै घेरामा छ । तर, बीपीलाई सुवर्णले राजा महेन्द्रले कुनै ‘कदम’ चाल्न लागेको चैँ भनेका थिए ।
-1768222656.jpg)
अमेरिकाको भव्य भ्रमण भएको छ महिनापछि नेपालको प्रथम जननिर्वाचित सरकार ढालेर महेन्द्रले आप्नो हातमा सत्ता लिए पनि आफूलाई विश्वको सबैभन्दा पुरानो लोकतन्त्र दाबी गर्ने अमेरिकाले राजाको खासै विरोध गरेन । उल्टै नवनिर्वाचित अमेरिकी राष्ट्रपतिले महेन्द्रले सत्ता लिएको तीन महिनापछि पत्र लेखेर दुई देशको मित्रवत् सम्बन्ध कायम हुने बताएका थिए । यो कुरा एसडी मुनीको पुस्तक फरेन पोलिसी अफ नेपालमा उल्लेख छ ।
अमेरिका भ्रमणमा महेन्द्रको भव्य स्वागतकै दौरानमा कतै महेन्द्रले बीपी हटाउने समर्थन त लिएका थिएनन् ? यो भने एउटा रोचक प्रश्न छ । उसो त राजा महेन्द्रले सत्ता लिएपछि प्रथम आवासीय अमेरिकी राजदूत हेनरी इन्डिकोट स्टेबेन्स्कीसँग गफिँदा बीपीले कम्युनिस्टलाई बढावा दिए भन्ने तर्क गरेको कुरा अमेरिकी स्टेट डिपार्टमेन्टले गोप्य सूचीबाट हटाएर डिलिस्ट गरिसकेको छ । कतै कम्युनिस्ट रोक्ने नाममा त अमेरिका चुप भएको थिएन ? यो शंका गर्ने आधार हो ।
राजा महेन्द्र र वीरेन्द्र दुवैको जेल भोगेका बीपीले महेन्द्रलाई वीरेन्द्रभन्दा राम्रा मान्थे । ‘फेरि सुन्दरीजल’ नामक बीपी कोइरालाले २०३३/३४ ताकाको डायरीमा वीरेन्द्रभन्दा महेन्द्र राम्रो भन्दै ३ वैशाख २०३४ को डायरीमा लेखेका थिए । बीपीले लेखेका थिए, ‘वीरेन्द्रका पिता (महेन्द्र)ले राजनीति बुझेका थिए । उनी वस्तुस्थितिको चतुर मूल्यांकन गर्थे । उनी भएको भए हामी नेपाल फर्केपछि उपलब्ध अवसरलाई दुवै हातले छोप्थे ।
सबै तस्वीर : अमेरिकी सूचना एजेन्सी (U.S. Information Agency 1960)
साभार : शिलापत्र डटकम, लेखक : विराट अनुपम, २०८२ पुस २८, सोमबार




