कोरोनाको समयमा जन्मिएको ‘दैनिकी’: सफा तरकारीले सजिलो बनाएको दैनिकी

Laxmi bank

कोरोना महामारी फैलिएको बेला थियो। अधिकांश मानिस सामान किन्न वा हिँडडुल गर्न साँझ वा बिहान निस्किन्थे। 

एक बिहान काठमाडौंका राकेश कर्माचार्य पनि छोरीसँग हिँड्दै थिए। बाटामा उनीहरूले ठेलाहरूमा तरकारी बेचिरहेको देखे।

बाबुछोरी गफ गर्दै साग बेचिरहेको ठेला नजिक पुगे।

बिक्रेताले साग लैजानू न भनिरहँदा एक महिलाले भनिन्, ‘साग धुन घरमा पानी छैन। पानी आएपछि किन्छु।’

यो सुनेर राकेशकी छोरी अचम्म परिन्।

अनि बुबालाई सोधिन्, ‘साँच्चै पानी नहुनेले तरकारी फोहोर नै खान्छन् होला त बाबा? यसले स्वास्थ्यमा केही असर हुँदैन?’

छोरीको कुरा सुनेर राकेश पनि केही समय गमे।

हामीले खाने तरकारी कति सफा हुन्छ? पानी अभाव भएका ठाउँमा मन लागेको तरकारी खान पनि सोच्नुपर्छ? पानी अभावकै कारण तरकारी राम्ररी नपखाल्ने वा नबिक्ने समस्या हुन्छ?

राकेशको मनमा यस्ता प्रश्न आए। 

Ncell
dainiki8-1767118250.jpeg
dainiki11-1767118256.jpeg

यो क्रममा उनी कालीमाटी लगायतका प्रमुख तरकारी बजार र किराना पसल गएर तरकारीको अवस्था र मूल्य बुझे।

‘बजारको मूल्य र किराना पसलको मूल्य धेरै फरक हुने रहेछ,’ राकेशले भने, ‘मैले त्यही बेला बजारकै मूल्यमा सफा र पकाउन सजिलो तरकारी तयार गर्ने सोचेँ।’

तरकारी केलाउन, काट्न र धुन धेरै समय खर्च हुन्छ। अझ जरा भएका साग, धनियाँ, नखाइने डाँठ भएका काउली केलाउन, माटो सहितको आलु, अदुवा सफा गर्न झन्झटिलो हुन्छ। हतारमा त यी काम गरेर पकाउन सम्भव पनि हुँदैन।

राकेशले सोचे — हरेक दिनको यो काम कसरी सजिलो बनाउन सकिएला?

उनको यही सोचले जन्मियो ‘दैनिकी— स्वच्छ खाऔं, स्वस्थ रहौं।’

एक वर्ष अगाडि सुरू भएको दैनिकी यस्तो कम्पनी हो, जसले विभिन्न तरकारी र फलफूल धोइपखाली, जरा–डाँठ फाली, प्याकिङ गरेर बेच्छ। यी तरकारी–फलफूल एकसरो पानीमा पखालेर पकाउन मिल्छ।

जस्तै रायो, चम्सुरको जरा, बाक्ला डाँठ फालेर केलाइएको हुन्छ। त्यस्तै आलु, अदुवा जस्ता माटोमुनि फल्नेहरूको माटो वा बाक्लो बोक्रा हुँदैन। काउलीका डाँठ फालिएको र चाना ट्रुक्याइएको हुन्छ।

यसरी तयार तरकारी–फलफूलको प्रकृति हेरेर स–सानो परिमाणमा प्याक गरिन्छ। त्यसैले एक जनादेखि सानो परिवारलाई उपयुक्त हुन्छ। धेरै चाहिए थप लिन सकिन्छ। मूल्य र तौल प्याकेटमै टाँसिएको हुन्छ। भाउ सोध्ने, जोख्ने झन्झट हुँदैन।

त्यस्तै खान मिल्ने चिज मात्र आउने भएकाले फ्याँक्न पर्ने फोहोर हुँदैन। समय बचत हुने त भइहाल्यो। 

dainiki7-1767118247.jpeg
dainiki1-1767118241.jpeg

भारतको बैंगलुरूमा सफ्टवेयर इन्जिनियरिङ पढेका राकेश आउटसोर्सिङमा काम गर्छन्। कोरोना महामारी भएकाले उनलाई फुर्सद थियो।

त्यसैले उनी तरकारी सफा कसरी बनाउन सकिन्छ भन्नेबारे खोजबिन र अध्ययन गर्न थाले। अरू देशमा के गरिने रहेछ भनेर पनि खोजे।

‘सबभन्दा महत्वपूर्ण कुरा यो सफा हुन्छ। भान्सामा लगेर कहाँ राख्ने, कहिले पानी आउला वा चिसोमा धेरैबेर कसरी पखाल्ने भन्ने चिन्ता हुँदैन,’ राकेशले भने। 

दैनिकीको कारखाना काठमाडौंको बानेश्वरमा छ। यहाँ बिहान साढे चार बजे तरकारी र फलफूल ल्याएपछि काम सुरू हुन्छ। ललितपुरको लेलेमा केही सागका प्रजाति उनीहरूले ठेक्कामा रोप्न दिएका छन्। अरू बजारबाटै ल्याउँछन्।

यसरी ल्याइएको तरकारी–फलफूल सुरूमा कामदारहरूले हातैले केलाउँछन्। डाँठ, जरा काट्छन्। माटोमुनि फल्ने तरकारीहरू खुर्किन्छन्। स्याउ, अंगुर लगायत फलफूल एकसरो पखाल्छन्।

यसपछि ती तरकारी–फलफूल एक मेसिनमा राखेर ‘ओजोन वास’ गरिन्छ।

‘यो मेसिनमा ओजोन पानी हुन्छ। ओजोन पानी भनेको शक्तिशाली अक्सिजन राखिएको पानी हो। यसले कुनै पनि चिजमा भएको फोहोर कीटाणु, विषादी पनि हटाउँछ,’ राकेशले भने, ‘तरकारीमा भएको फोहोर, धूलो र माटो अझै राम्रोसँग धुन मेसिनका दुवै तिरबाट प्रेसर (दबाब) मा पानी आउँछ।’

त्यसपछि तरकारी–फलफूल सफा पानीमा अन्तिम चोटि पखालिन्छ। अनि त्यसलाई मेसिनले ड्रायरमा लैजान्छ र सबै पानी सुकाउँछ।

यसरी सुख्खा भएर आएको तरकारी–फलफूल प्लास्टिकमा प्याक गरिन्छ। पोका पारिएका प्लास्टिकमा नगुम्सियोस् भनेर केही प्वाल बनाइएको हुन्छ। गाजर, मूला, काक्रा जस्ता तरकारी–फलफूल भने प्लास्टिक र्‍याप गरिन्छ।

dainiki6-1767118247.jpeg

dainiki3-1767118242.jpeg

‘यो सबै काम गरे पनि हामीले तरकारी–फलफूलको भाउ बढी राख्दैनौं। बजारकै भाउमा बेच्छौं। त्यसैले बजारकै जस्तो भाउ फेरिइरहन्छ,’ राकेशले भने।

उनका अनुसार तरकारी–फलफूलको स्वच्छता खाद्य तथा गुणस्तर विभागले र खाद्य प्राविधिक (फुड टेक्निसियन) बाट परीक्षण पनि हुन्छ।

दैनिकीका तरकारी फलफूल होराइजन, खजुरीको जस्ता मार्टहरूमा पाइन्छ। उनीहरूले विभिन्न होटल र केही हाउजिङमा डेलिभरी पनि गर्छन्।

राकेशका अनुसार उनले यो व्यवसाय एक करोड ७५ लाख रूपैयाँमा सुरू गरेका हुन्। हाल दैनिकीमा राकेशसहित १३ जना कर्मचारी छन्।

उनले भारतबाट ल्याएको ओजोन वास गर्ने मेसिनको प्रतिघन्टा १८ सयदेखि २ हजार किलोसम्म तरकारी–फलफूल सफा गर्ने क्षमता छ। मेसिनबाट धेरै ठूलो आवाज आउँछ। त्यसैले यो राखिएको ठाउँमा साउन्ड–प्रुफ भित्ता बनाइएको छ।

कारखाना भएकै ठाउँबाट उनीहरूले दैनिकीका तरकारी–फलफूल बेच्छन् पनि।

‘कतिपय ठूला होटलमा तरकारी–फलफूलको ओजोन वास अनिवार्य हुने रहेछ। त्यसैले धेरै होटललाई सजिलो भएको छ,’ राकेशले भने, ‘अरू जोकोही मानिसकै पनि दैनिक जीवनमा दैनिकीको तरकारी–फलफूलले सहज बनाउँछ।’

dainiki2-1767118241.jpeg
dainiki5-1767118246.jpeg
dainiki10-1767118254.jpeg
dainiki9-1767118252.jpeg
dainiki14-1767118259.jpg

साभार : सेतोपाटी डटकम, आर्या श्रेष्ठ, काठमाडौं, २०८२ पुस १६, बुधबार

Purwanchal.com
Purwanchal.com
Articles: 42

Leave a Reply

Your email address will not be published. Required fields are marked *