कटन केयर होमः पारिवारिक टेक्स्टायल व्यवसायबाट सफल महिला उद्यमी बनेकी हसना महर्जन

जाडोमा न्यानो र गर्मीमा शीतल हुने भएकाले सुतीका उत्पादनको बजार राम्रो भएको उनी बताउँछिन्।

‘हामीकहाँ घरका लागि आवश्यक सबै किसिमका लुगा–कपडा पाइन्छन्,’ उनले भनिन्।

यहाँ पन्ध्र सय रूपैयाँदेखि चार हजार रुपैयाँसम्मका सामान पाइन्छ। फेब्रिक (कपडा) उत्पादन गर्ने आफ्नै उद्योग भएकाले आफूहरूको उत्पादन तुलनात्मक रूपमा सस्तो पर्ने हसना बताउँछिन्।

त्यस्तै, गुणस्तरीय र टिकाउ पनि हुने उनको भनाइ छ। कटन केयर होमका मुख्य आकर्षण डिजाइनदार तन्ना र भुइँमा ओछ्याउने दरी हुन्।

cotton-care-home-(11)-1717346700.jpg

हसनाका अनुसार उत्पादन सुरू भएदेखि नै सबैभन्दा बढी माग तन्नाकै छ। अनेक आकार र डेढ सयभन्दा बढी डिजाइनका तन्ना र ढाकाको दरी धेरैको रोजाइमा परेको छ। तन्नामा पनि मण्डला र लालीगुराँस बुट्टा धेरैले रूचाएका छन्। यस्तो तन्ना मासिक सरदर पन्ध्र सय वटासम्म बिक्ने हसनाले बताइन्।

‘एक पटक किनेपछि नियमित बनेका ग्राहक धेरै छन्। कपडाको गुणस्तर र डिजाइनले पनि ग्राहकको मन जितेको हो,’ उनले भनिन्।

उनी अहिले कटन केयरलाई सामाजिक सञ्जालमार्फत ब्रान्डिङ गर्दैछिन्। ब्रान्ड नयाँ भए पनि कपडा व्यापार उनको पारिवारिक व्यवसाय हो।

ललितपुरकै थैवमा कपडा उत्पादन गर्ने ‘सेवा टेक्स्टायल’ उद्योग छ। यो उद्योग हसनाका ससुरा बुबा रत्नलालले खोलेका हुन्।

यो उद्योगले उत्पादन गरेको कपडा ६ वर्षअघिसम्म अन्य व्यापारीले किन्थे। सुतीका सादा कपडाको व्यापार काठमाडौंका असन र ठमेलमा धेरै हुन्थ्यो। रत्नलालले उद्योगको कपडा थोकमा बेचेरै जीविका चलाएका थिए।

आजभन्दा नौ वर्षअघि रत्नलालको उद्योगमा एक हजार मिटर कपडा स्टक बसेको थियो। उनले आफ्ना छोरा रकी (हसनाका श्रीमान) लाई त्यो कपडाबाट टिसर्ट, ट्राउजर तथा अन्य उपयोगी लुगा बनाउन भने। तर रकीले मण्डलाको चित्र राखेर तीन सय वटा तन्ना बनाए।

तन्नाको बजार कस्तो छ भन्ने उनलाई थाहा थिएन। त्यही बेला काठमाडौंको भृकुटीमण्डपमा व्यापार मेला चल्यो। उनले तन्ना बेच्न राखे। मेलाभरिमा सबै बिक्यो।

रत्नलाललाई सुरूमा रकीले तन्ना बनाएको उति चित्त बुझेको थिएन। पाँच दिनमै सबै बिकेपछि भने उनी खुसी भए।

यसपछि रकीले बजारको माग र रूचि थाहा पाए। आफ्नो उद्योगको कपडाबाट विभिन्न डिजाइनमा तन्ना, सिरानीका खोल, खास्टो र केही लुगा तयार गरे।

उनी आफ्ना सबै उत्पादन व्यापार मेलामै बेच्थे।

मेलाले व्यापार बढ्दै गएपछि उनीहरूले पसल खोल्ने योजना बनाए। अनि पाँच वर्षअघि ‘इजी फेब्रिक डेकोर’ नामको कम्पनी दर्ता गरेर पुल्चोकमा पसल खोले।

डिजाइन बढाउँदै गए, व्यापार पनि बढ्दै गयो। यसबाट उत्साहित रकीले सुतीका डिजाइनदार तन्ना बनाउने र आफ्नै ब्रान्डमा बेच्ने योजना बनाए।

रकी महर्जन र हसना महर्जन। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
रकी महर्जन र हसना महर्जन। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी

cotton-care-home-(8)-1717346699.jpgतर सोचेअनुसार ब्रान्ड विकास भएन।

त्यही बेला यसमा जोडिइन् हसना।

हसना त्यो बेला एउटा गैरसरकारी संस्थामा काम गर्थिन्। फुर्सदमा परिवारको काम सघाउँथिन्। उनलाई आफ्ना श्रीमान रकीको व्यापार बढ्दै गएको तर ब्रान्ड बन्न नसकेको जानकारी थियो।

उनी ब्रान्ड विकासको योजनामा लागिन्। इजी फेब्रिक डेकोर चलिरहेकै थियो, २०७९ सालमा उनले कटन केयर होम सुरू गरिन्।

आफ्नो ब्रान्डमा काम सुरू गरेपछि हसनाले उद्यमीहरूसँग भेटघाट बढाइन्। महिला उद्यमी कार्यशालाहरूमा सहभागी हुन थालिन्। बिस्तारै व्यवसायमै आत्मविश्वास बढ्यो। उनले जागिर छाडिन्।

‘पारिवारिक व्यवसाय चलेकै थियो। त्यसैबाट आफ्नो ब्रान्ड चलाउने सोचले अघि बढ्यौं,’ हसनाले भनिन्, ‘छोटो समयमै धेरैले रूचाउनुभयो। व्यापार र ब्रान्डको चिनारी दुवै बढ्दै छ।’

हसना अहिले पनि महिला उद्यमीका व्यापार मेला र व्यावसायिक कार्यक्रममा सहभागी हुन्छिन्। यस्तो सक्रियताले व्यवसाय वृद्धिमा सहयोग पुगेको उनको भनाइ छ।

‘जागिरले भन्दा आफ्नो व्यवसायले बढी खुसी दिएको छ,’ हसनाले भनिन्, ‘घर–परिवार सम्हाल्दै उद्यम गर्नु महिलाका लागि चुनौती हो। सुरुमा जागिर छाडेर व्यवसायमा आउँदा केही कठिनाइ पनि भयो। तर सबै पार लगाउँदै व्यवसायी बनेँ। खुसी छु।’

कटन तन्ना प्रयोग गर्नेको संख्या बढ्दै गएको उनको अनुभव छ। अचेल कतिपय ग्राहकले हसनालाई नै ‘कटन दिदी’ भन्छन्।

यसलाई उनी आफ्नो व्यक्तिगत ब्रान्ड मान्छिन्।

cotton-care-home-(9)-1717346699.jpg
cotton-care-home-(2)-1717346698.jpg

कटन केयर होमका सबै उत्पादन रकीले इजी फेब्रिक डेकोरबाट तयार गर्छन्। रकीका ६१ वर्षीय बुबा रत्नलाल पनि टेक्स्टायल उद्योगमा सक्रिय नै छन्।

‘बुबाले चलाएको व्यवसायमा हामीले डिजाइन भरेर नयाँ रूप दिएका छौं,’ हसना भन्छिन्, ‘बजारको माग र चल्तीअनुसारको उत्पादन गर्छौं। बुबा पनि खुसी हुनुहुन्छ।’

कटन केयरका उत्पादन विदेश निर्यात गर्ने उनीहरूको योजना छ। अहिले स्वदेशी बजारमै बढी बिक्री भइरहेको छ। काठमाडौं उपत्यकासँगै बाहिरबाट पनि माग आइरहेको छ। छिट्टै कटन केयर होमको शाखा खोल्ने हसनाको लक्ष्य छ।

उनीहरूको व्यवसायमा परिवारका सदस्यबाहेक २० जनाभन्दा बढीले रोजगारी पाएका छन्।

व्यवसायको तीन वर्षमा हसनाले स्थानीय तहदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड पनि पाइसकेकी छिन्।

यी अवार्डहरूले व्यावसायिक यात्रामा थप ऊर्जा दिएको उनी बताउँछिन्।

‘अवार्डले प्रेरित गर्ने रहेछ। यसले आगामी यात्राका लागि अझ जिम्मेवार बनाएको छ,’ हसनाले भनिन्, ‘महिलाहरू उद्यममा आउन आवश्यक छ। थोरै लगानीबाट भए पनि व्यवसाय सुरू गर्न र आत्मनिर्भर बन्न सकिन्छ।’

साभार : सेतोपाटी डटकम, सविना कार्की, काठमाडौं, २०८२ पुस १४

Purwanchal.com
Purwanchal.com
Articles: 42

Leave a Reply

Your email address will not be published. Required fields are marked *