हजार रूपैयाँबाट सुरु, आज वार्षिक ५ करोडको अचार व्यापार

हजार रूपैयाँबाट सुरु गरेर आज वार्षिक ५ करोड रूपैयाँको कारोबार गर्दै वसुमाया तामाङले टिमुरको छोप र अचारलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याएकी छन्। दैनिक मजदुरी र दुःखसँग संघर्ष गर्दै उनले 'नेपाली मन' ब्रान्ड स्थापना गरिन्, जसले अहिले २५ भन्दा बढी देशमा अचार निर्यात गर्छ। वसुमायाको यो यात्रा नेपाली महिलाको आत्मनिर्भरता र उद्यमशीलताको प्रेरक उदाहरण बनेको छ।

उमेरले तीन दशक पार गर्दासम्म उनको जीवनमा ‘सुख’ आएन। उनले दैनिक ज्याला मजदुरीमा गुजारा चलाइन्। विष्णुमती खोलामा बालुवा चालिन्। कहिले स्विटर र मोजा बुनेर छोराछोरीको पेट भरिन्। कहिले ठेलामा मःम बेचिन्।

अनेक गर्दा पनि वसुमाया तामाङको जीवन सहज भएन। पैसाको अभावले सधैं पिरोल्यो।

‘दुई छाक खान र छोराछोरी हुर्काउन के मात्रै गरिनँ,’ वसुमायाले भनिन्, ‘जीवनमा धेरै हन्डर खाएँ।’

उनको जीवन यसरी नै चलिरहेको थियो। करिब पन्ध्र वर्षअघिको कुनै एक दिन वसुमायाको दिमागमा झिल्को झैं बल्यो — टिमुरको छोप।

धादिङको हिमाली भेग रूबी भ्यालीमा जन्मेहुर्केकी वसुमाया बाल्यकालमा जंगलबाट टिमुर टिपेर ल्याउँथिन्। उनकी आमा सिलौटामा नुन-खुर्सानीसँग टिमुर पिसेर अचार बनाउँथिन्।

त्यही अचारलाई आमा टिमुरको छोप भन्थिन्।

‘छोपमा चोपेर ढिँडो खाइन्थ्यो,’ वसुमायाले भनिन्, ‘ढिँडो धेरै रूच्थ्यो, मीठो पनि हुन्थ्यो।’

basumaya8-1720548755.jpg

basumaya5-1720548754.jpg

उनले सोचिन् — यो पनि बेचेर हेर्छु!

उनलाई त्यही बेलादेखि टिमुरको छोप खुब मनपर्थ्यो, खानामा बिहान-बेलुकै हुन्थ्यो।

पछि काठमाडौंमा दुःख भोग्दै गर्दा उनले त्यही छोप सम्झिइन्। एक दिन आमाले बनाएभन्दा केही फरक ढंगले, धूलो अचारका रूपमा छोप बनाइन्। आफन्त र छरछिमेकीलाई खुवाइन्। सबैले मनपराए।

वसुमायाले एक हजार रूपैयाँ जुटाइन्। टिमुर, नुन र खुर्सानी किनिन्। एक किलो छोप बनाइन्। नाङ्लामा राखेर सडक किनारमा बेच्न बसिन्।

तर आफन्त र छिमेकीले स्वाद मानेजस्तो सहज भएन। त्यो छोप बिक्न डेढ महिना लाग्यो।

वसुमायाले हिम्मत हारिनन्। फेरि एकैपटक पाँच किलो छोप बनाइन्। रोजगारीका लागि विदेश जाने केही युवालाई बेच्न पाइन्। विदेश जानेहरूले मनपराएर किने। यस्तै मानिस पहिल्याउँदै छोप बेच्न थालिन्।

‘अनि त बाहिर (विदेश) लैजान अलि ठूलो पोकोमा बनाइदिनुस् भनेर अर्डर आउन थाल्यो,’ उनले भनिन्, ‘विदेश जानेले किन्ने भएपछि मैले विदेशमा व्यापार हुन सक्छ भन्ने सोचेँ।’

यो २०६६ सालको कुरा हो।

वसुमायाले एक किलोबाट पाँच किलो हुँदै एकपटकमा एक बोरा छोप बनाउन थालिन्। करिब एक वर्षमा राम्रै रफ्तार भएपछि उनलाई व्यापार हुन्छ भन्ने विश्वास भयो। एउटा उद्योग दर्ता गराएर व्यवस्थित ढंगले काम गर्ने योजना बनाइन्।

उनले २०६७ सालमा ‘नेपाली मन’ उद्योग दर्ता गराइन्।

‘विदेशमा बस्ने नेपालीमाझ पुर्‍याउने उद्देश्यले देशप्रेम झल्किने गरी उद्योगको नाम राखेँ,’ उनले भनिन्, ‘विदेश जाने नेपालीमार्फत थोरैथोरै विदेश पठाउन थालेँ।’

बिस्तारै विदेशबाट अर्डर आउन थाल्यो। उनको हौसला बढ्यो। पठाउने प्रबन्ध मिलाइन्। हेर्दाहेर्दै वसुमाया एक्लैले नभ्याउने अवस्था आयो। केही महिलालाई साथमा लिएर छोप बनाउन सिकाइन्।

ग्राहकले टिमुर छोपसँगै अन्य अचार पनि माग गरे। उनी अकबरे, माछा, चिकेन र बफ अचार बनाउन थालिन्। यी सबै अचारको बजार एक देशबाट अर्को देशमा फैलिँदै गयो।

यसरी वसुमायाले एक किलो छोपबाट सुरू गरेको ‘नेपाली मन’ अहिले ब्रान्ड बनिसकेको छ। उनी अहिले टिमुरको छोपसँगै २० थरीका अचार बनाउँछिन् र २५ वटाभन्दा बढी मुलुकमा बेच्छिन्। उद्योगको सबभन्दा चलेको भने टिमुर छोप नै हो।

‘टिमुर छोप खानुपर्छ भनेर व्यावसायिक सुरूआत गरेकै मैले हो। त्यसअघि खासै चलन थिएन,’ उनले दाबीका साथ भनिन्।

वसुमाया धेरैजसो टिमुर सल्यान र जाजरकोटबाट ल्याउँछिन्। आफैले धादिङ र नवलपुरमा टिमुर उत्पादन पनि सुरू गरेकी छन्।

उनका अनुसार सबै अचार हातैले बन्छ। उद्योगमा ७० जना कर्मचारी छन्, अधिकांश महिला हुन्। उनीहरू लसुन, अदुवा, खुर्सानी लगायत सबै मरमसला सिलौटामा पिस्छन्। यसकारण पनि नेपाली मनको अचारमा अर्गानिक स्वाद हुने उनी बताउँछिन्।

नेपाली मनले चिकेन (कुखुराको मासु), बफ (राँगा-भैंसीको मासु), फिस (माछा) र अकबरे खुर्सानीको अचार बाह्रैमास बनाउँछ। मौसम अनुसार मुला, लप्सी, कागती, लौका, फर्सी, च्याउ, गुन्द्रुक, भटमास, मस्यौरा, किनेमा, आँप, तामा, काँक्रो, मिक्स इत्यादि अचार बन्छन्। यी सबै अचारको खानयोग्य म्याद दुई वर्ष हुन्छ।

basumaya4-1720548754.jpg


basumaya2-1720548753.jpg

वसुमायाले बनाएका अचार नेपाली मनको फेसबुक र इन्स्टाग्रामबाट अर्डर गर्न सकिन्छ। सिधै फोन गर्दा पनि हुन्छ। सुपर मार्केट र मार्टहरूमा पनि उपलब्ध छ। अनि मनमैजुस्थित नेपाली मनको कारखानामै पनि किन्न पाइन्छ।

अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत, बेल्जियम, फ्रान्स, जापान, कोरिया, हङकङ, भारत लगायत मुलुकमा पनि अचार पुगिरहेको वसुमायाले बताइन्।

‘मुख्य बजार त नेपालबाहिरै हो, उत्पादनको ७० प्रतिशत विदेश पुग्छ,’ उनले भनिन्, ‘हाल वार्षिक करिब ५ करोड रूपैयाँको कारोबार छ।’

वसुमाया आफै विदेश गएर पनि बजार प्रवर्द्धन गर्छिन्। व्यापार विस्तारमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियाको सहयोग पाएको उनको भनाइ छ।

‘एउटा कोठामा बनेको अचार विश्वमा पुर्‍याउन सजिलो थिएन। यसमा थुप्रै मिडियाको सहयोग छ,’ ५० वर्षीया वसुमायाले भनिन्, ‘मिडियाहरूले मेरो उत्पादन र ब्रान्ड स्थापित गराउन सहयोग गरेका छन्।’

डेढ दशकमा वसुमायाको नाम स्थापित महिला उद्यमीको सूचीमा चढिसकेको छ। धेरैले उनलाई ‘छोपवाली’ समेत भन्छन्। आफ्नो कामबाट चिनिन पाउँदा खुसी लाग्ने उनी बताउँछिन्।

नेपाली मनको मनमैजुस्थित कारखानाबाट अर्डर अनुसारका दैनिक दुई हजार बट्टासम्म अचार तयार हुन्छ। कारखानाको एउटा कोठामा वसुमायाको कार्यालय छ। कोठाको भित्ता प्रमाणपत्र, प्रशंसापत्र र सम्मानपत्रले छोपिएको छ।

‘यी सम्मानपत्रले मलाई हौसला दिएका छन्। वर्षैपिच्छे मानसम्मान र विदेश घुम्न पाएकी छु। दिदीबहिनीलाई काम दिएकी छु। म सन्तुष्ट छु,’ वसुमायाले भनिन्, ‘त्यसैले सानोबाट सुरू गरेर भए पनि व्यवसायमा आउनुस्। उद्यमी बन्नुहोस्। अबको पालो महिलाकै हो।’

basumaya-tamang-1720548753.jpg
basumaya1-1720548753.jpg
basumaya3-1720548754.jpg
basumaya7-1720548755.jpg
basumaya6-1720548755.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *