यात्राबाट जन्मिएको कला: अनुशा थापा र ‘अमेया स्टुडियो’ का कथायुक्त गहना

‘इन्जिनियरिङको प्रवेश परीक्षा सकेर हिँडिरहेका बेला मेरो आँखा एउटा नोटिस–बोर्डमा पर्‍यो। त्यसमा ललित कलामा स्नातकको फारम लेखिएको थियो। म अचम्म परेँ। त्यो बेलासम्म मलाई चित्रकला पढ्न पाइन्छ भन्ने थाहा थिएन,’ उनले भनिन्।

त्यही सानो सूचना उनको करिअरको ठूलो मोड भयो।

‘अहिले लाग्छ म यसैका लागि बनेकी रहेछु,’ अनुशा थापाले भनिन्।

अनुशा ‘अमेया स्टुडियो’ की सञ्चालक हुन्। सन् २०२३ मा खुलेको यो स्टुडियोमा थरीथरी धातुले बनेका गहना पाइन्छ। अनुशा विभिन्न ठाउँमा यात्रा गर्छिन् र ती ठाउँमा देखेका कुरा, दृश्य समेटेर गहनाको डिजाइन बनाउँछिन्।

‘अमेया भनेको सीमा नभएको हो,’ उनले भनिन्, ‘धेरै कुराको खोज गर्नु र खोज कहिल्यै नसकिने भन्ने हो।’

उनी आफ्नो कला नेकलेस, झुम्का, टप, पेन्डेन्ट, औंठी, बिन्दिया, बिच्छिया, पाउजू, बाला, महिला र पुरूष दुवैलाई हुने ब्रोच (लुगामा लगाइने पिन) लगायत गहनामा झल्काउँछिन्।

अनुशा सानैदेखि डाक्टर बन्न चाहन्थिन्। पढाइ राम्रै थियो। प्लस–टूमा विज्ञान विषय पढिन्। तर डाक्टरी पढ्न केही समय लाग्ने भएकाले इन्जिनियरिङको प्रवेश परीक्षा दिएकी थिइन्।

त्यस दिन ललित कला क्याम्पसको सूचना देखेपछि भने उनी कलातिर तानिइन्। उनका सिनेमाटोग्राफर दाइले पनि प्रोत्साहन गरे।

उनी काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्ट्स, हात्तीवनमा भर्ना भइन्। मुख्य विषय ग्राफिक कम्युनिकेसन लिइन् जसमा लोगो, पोस्टर डिजाइनबारे पढाइ हुन्छ।

घुम्न मनपराउने अनुशा सन् २०२२ मा साथीहरूसँग लाङटाङ गएकी थिइन्। सो यात्राले ‘बिजनेस आइडिया’ फुरायो।

उनी स्याफ्रुबेँसीमा साबुन किन्न गएकी थिइन्। उनको आँखा पसलकी साहुनीको कानमा पर्‍यो।

‘उहाँले ठूलो झुम्का लाउनुभएको थियो। कानको लोती च्यातिनै लागेको थियो। झुम्का डोरीले बाँधेर लगाएको देखेपछि मैले किन यसरी लगाउनुभएको भनेर सोधेँ,’ अनुशाले भनिन्।

ameya3-1770133655.jpg

सन् २०२१ मा उनले स्नातक पूरा गरिन्। लगत्तै कुपन्डोलस्थित एक आइटी (सूचना–प्रविधि) कम्पनीबाट ग्राफिक डिजाइनरका रूपमा काम गर्ने प्रस्ताव आयो। उनले काम थालिन्।

त्यो झुम्का ती साहुनीकी हजुरआमाको रहेछ। झुम्कामा फिरोजा भनिने नीलो र हरियो पत्थर पनि थियो जसको नाम ‘हिउँ’ भएको उनले बताइन्। सो पत्थरले रक्षा गर्छ भन्ने विश्वास रहेछ।

Ncell

एउटा गहनासँग पुर्खाको याद र आस्था जोडिएको देखेर अनुशालाई परम्परागत र मौलिक कलामा चासो बढ्यो। ग्राफिक डिजाइनमा रमाइरहेकी उनलाई आफ्नो कला पनि देखाउन मन थियो। उनले गहनामा डिजाइन गर्ने सोचिन्।

डिजाइन केको बनाउने त?

उनले आफ्नो यात्रा क्रममा देखेका राम्रा कुराहरू सम्झिइन्। डिजाइनमा त्यही झल्काइन्। केही समयपछि एक ठाउँमा गहना बनाउन दिइन्। तर उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो।

ameya5-1770133655.jpg

‘डिजाइन दिएर, पहिल्यै पैसा तिरेर गहना बनाउन दिएको मान्छेले फोन नै उठाएन। पछि त पसल नै छाडेको थाहा पाएँ,’ उनले भनिन्।

बल्लतल्ल बचाएको पैसा गुमेपछि अनुशाले केही समय बुझेर, अध्ययन गरेर मात्र अगाडि बढ्ने निधो गरिन्। यो क्रममा उनले वर्षौंदेखि यही काममा लागिरहेका मान्छे भेटिन्। सोधखोज गरिन्। जब अब काम गर्न सक्छु भन्ने आत्मविश्वास भयो, तब अमेया स्टुडियो खोलिन्।

अनुशाले आफ्नो गहनाको पहिलो शृंखला निकालिन्। त्यसको नाम राखिन् ‘री’।

यसमा उनले स्याफ्रुबेँसीबाट कानजिङ रीसम्मको यात्रा झल्काएकी छन्।

‘री कलेक्सनमा एउटा डिजाइनको नाम ताङ राखेकी छु,’ उनले भनिन्, ‘मैले भेटेकी साहुनीले लगाएको झुम्काबाट प्रभावित हो ताङ। यसले उनीहरूको साहस, मुस्कान र हामीलाई स्वागत गर्दा देखाएको हार्दिकताप्रति सम्मान प्रकट गर्छ।’

अर्को ‘री’ डिजाइन लाङटाङको लिरूङ हिमाल, त्यहाँका झरना तथा नदीबाट प्रेरित छ। ‘सायब्रू’ डिजाइनमा स्याफ्रुबेसीबाट कान्जिङ रीसम्म खिचेको चित्र देखिन्छ।

यसरी नै उनले यात्रा क्रममा देखेका, अनुभव गरेका कुराहरू समावेश गरेर विभिन्न डिजाइन बनाएकी छन्।

अनुशाले सबभन्दा पहिले सन् २०२४ मा काठमाडौंमा भएको ‘वाउ फेस्टिभल’ मा गहना प्रदर्शनमा राखेकी थिइन्। ग्राहकले गहना र त्यस पछाडिको कथा मनपराए। त्यहीँ अर्डर पनि गरे।

ameya4-1770133655.jpg

यसरी नै एकपछि अर्को गर्दै उनले आफ्ना यात्राका कथा गहनामा कुँदिन्।

उनी भन्छिन्, ‘यात्राले मलाई धेरै कुरा सिकाएको छ। गहना बनाउँदा आफ्नै कथा भन्ने अवसर पनि मिल्छ।’

उनले गहनाको दोस्रो शृंखला काठमाडौंको हरियाली र संस्कृतिबाट प्रेरित भएर बनाइन् जसको नाम ‘पालुवा’ हो।

‘यो कलेक्सनले आफू, प्रकृति र जीवजन्तुप्रति कृतज्ञ हुन उत्प्रेरित गर्छ,’ उनले भनिन्।

पालुवा शृंखलाको एक डिजाइन ‘वाना’ मा पात र फूलहरू समावेश छन्।

‘म चित्र बनाउन प्रायः बसन्तपुर र पाटन दरबार स्क्वायर जान्छु। त्यहाँका मन्दिरमा प्रायः पित्तल हुन्छ। काठमाडौं नामको कलेक्सनमा मैले धेरै पित्तल नै प्रयोग गरेकी छु,’ अनुशाले भनिन्।

उनले जनकपुर यात्रापछि ‘पोखैर’ (पोखरी) शृंखला निकालिन्। यसमा भएको एक डिजाइन ‘गुलमोहर’ जनकपुरको पोखरी र गुलमोहर फूलबाट नयाँ प्रेरित छ। जानकी मन्दिर र परिवशेबाट प्रेरित ‘जानकी’ औंठी पनि छ।

यसैगरी पाँचपोखरी यात्राबाट उनले ‘हिउँ’ शृंखला बनाइन्। यसमा उनले त्यहाँ देखेका दृश्यलाई आधार मानेर डिजाइन बनाएकी छन्।

यसबाहेक, उनले सन् २०२६ को पहिलो पूर्णिमामा ‘सुपर मून’ ल्याएकी थिइन्।

ameya2-1770133655.jpg

‘जब पूर्ण चन्द्रमा पृथ्वीको सबभन्दा नजिक आउँछ, अझ उज्यालो र तेजिलो हुन्छ,’ उनले भनिन्।

यसरी अनुशा यात्रा गर्दै नयाँ नयाँ डिजाइनका गहना बनाउँछिन्। हरेक गहनाका पछाडि कथा हुन्छ। डिजाइन बनाएपछि मात्र उनी कुन धातुको बनाउने भन्ने निधो गर्छिन्।

‘जस्तै हिमाली ठाउँको डिजाइनमा चाँदी प्रयोग हुन्छ। तर चाँदीको मूल्य घटबढ हुने भएकाले भाउ तोक्न समस्या हुन्छ,’ उनले भनिन्।

अमेया स्टुडियोका सबै गहना हातैले बनाइने अनुशा बताउँछिन्। उनीसँग ११ जनाको टिम छ। एक गहना बनाउन तीन दिनसम्म लाग्छ। नयाँ डिजाइन बनाउन कम्तीमा ५ दिन चाहिन्छ।

अनुशाका अनुसार कुनै पनि डिजाइन सुरूमा एक वटा मात्र बनाइन्छ। अरू अर्डर अनुसार तयार हुन्छ। सबभन्दा धेरै बिक्री हुनेमा ‘री’ र ‘पालुवा’ कै गहना छन्।

अमेया स्टुडियोका सामान किन्न अहिले पसल छैन, अनलाइनमै किन्नुपर्छ। यिनको मूल २ हजारदेखि ४९ हजार रूपैयाँसम्म पर्छ।

‘नेपालमा धेरै वस्तु आयात हुने भएकाले हामी पुर्ख्यौली काम बिर्सिन थालेका छौं। त्यसैले मैले कथायुक्त गहना बनाउन थालेकी हुँ,’ अनुशाले भनिन्।

साभार : सेतोपाटी डटकम, आर्या श्रेष्ठ, काठमाडौं, २०८२, माघ २१, बुधबार

Purwanchal.com
Purwanchal.com
Articles: 42

Leave a Reply

Your email address will not be published. Required fields are marked *