काठमाडौंको कीर्तिपुरमा जापानी शैलीको राइस बर्गर, टेस्ट अफ लियानाको नयाँ स्वाद

Laxmi bank

बर्गर पिठोका दुइटा बन पाउरोटीको बीचमा मासु वा तरकारीको प्याटी, चिज, साग (लेटस), प्याज, टमाटर लगायत राखेर बनाइएको खाजा हो।

नेपालसहित संसारका धेरै देशमा यस्तै बर्गर चल्तीमा छ।

जापानमा भने फरक र अनौठो खालको बर्गर पनि पाइन्छ। यो बर्गरमा अरू सबै कुरा उस्तै भए पनि बन पाउरोटीको साटो भात हुन्छ। भातलाई गोलो च्याप्टो आकार दिएर बनको ठाउँमा राखिएको हुन्छ जसलाई ‘राइस बर्गर’ भनिन्छ।

करिब चार दशकअघि एक रेस्टुरेन्टले जापानमा यस्तो बर्गर चिनाएको मानिन्छ।

अहिले राइस बर्गर धेरै देशमा पुगिसकेको छ। पछिल्लो समय टिकटक लगायत सामाजिक सञ्जालमा निकै भाइरल पनि भएको थियो।

भातले बनेको यस्तै राइस बर्गर काठमाडौं, कीर्तिपुरको पाँगामा रहेको ‘टेस्ट अफ लियाना’ रेस्टुरेन्टमा पनि पाइन थालेको छ।

अंग्रेजी नयाँ वर्षदेखि यहाँ राइस बर्गर बेच्न थालिएको रेस्टुरेन्टका सञ्चालक प्रकाशसिंह रावतले बताए।

‘लामो समयदेखि यसको परीक्षण गर्दै आएको थिएँ। सामाजिक सञ्जालहरूमा भिडिओ पनि राखिरहेको थिएँ,’ २८ वर्षीय प्रकाशले भने, ‘व्यावसायिक रूपमा मेनुमा राखेको भने न्यू इयरदेखि हो।’

rice-burger7-1767715351.jpeg
Ncell

उनको यो रेस्टुरेन्ट खुलेको सात महिना भयो। यहाँ उनी एक्लै काम गर्छन्। खानेकुरा पकाउनेदेखि सफा गर्ने सबै जिम्मा उनकै हो।

सुदूरपश्चिम‍ प्रदेशका प्रकाश कक्षा ९ पढ्दै गर्दा काम गर्न भारत गएका थिए। त्यो उमेरमै उनी जीवनमा म आफै केही गर्छु भन्ने सोच्थे।

भारतीय सीमा नजिक घर भएकाले उताका केही मानिससँग चिनजान थियो। त्यसैले उनी भारत पसे र विभिन्न रेस्टुरेन्टमा काम गरे। सो क्रममा धेरै काम सिके।

उनले मुम्बईमा चार वर्ष, बैंगलुरूमा तीन वर्ष र रायपुरमा तीन वर्ष गरी दस वर्ष भारतमा काम गरे।

त्यही बेला प्रकाशले एक दिन सामाजिक सञ्जालमा राइस बर्गरको भिडिओ देखे। त्यतिखेर उनी एक रेस्टुरेन्टमा सेफ भइसकेका थिए।

‘मैले पनि त्यतिखेर राइस बर्गर बनाउने प्रयास गरेँ तर के के नमिलेपछि छाडिदिएँ,’ प्रकाशले भने, ‘त्यति धेरै जोड पनि गरिनँ।’

उनी बेला बेला नेपाल घर आउँथे। सन् २०२५ मा आफ्नी छोरीको जन्मदिन पारेर आएका थिए। त्यसपछि भने उनलाई भारत फर्किन मन भएन।

होटलमा काम गरेको लामो अनुभव भएकाले नेपालमै केही गर्ने सोचे।

कीर्तिपुरमा उनका भाइहरू पढ्न बसेका थिए। चिनजानका मानिस पनि धेरै नै छन्। त्यसैले उनले कीर्तिपुरमै टेस्ट अफ लियाना खोले। लियाना उनकी साढे दुईवर्षे छोरीको नाम हो।

rice-burger1-1767715350.jpeg
rice-burger2-1767715350.jpeg

सुरूमा प्रकाशले रेस्टुरेन्टमा चियासहित सामान्य खाजाहरू चना, उसिनेको अन्डा, मःम, पकौडा, चाउमिन, समोसा, चिकेन चिल्ली, ड्रागन चिकेन आदि पस्किए। खाना सेट पनि राखे।

उनको खास परिकार भने भुटेको भात थियो। चिकेन र भेजमा पाइने भुटेको भात उनी सुदूरपश्चिमकै शैलीमा बनाउँछन्। 

‘यसमा फरक खालको मसला हालिन्छ। त्यसैले अरूतिर पाइनेभन्दा स्वाद फरक हुन्छ। अलि पिरो पनि हुन्छ। यो स्वाद भारतमा बढी चल्छ,’ प्रकाशले भने, ‘यो भुटेको भात रेस्टुरेन्टमा राखेपछि थाहा भयो, कीर्तिपुरमा सुदूरपश्चिमका मानिस कति धेरै रहेछन्। आफ्नो ठाउँको चर्चित परिकार खान धेरै मानिस आउँछन्।’

केही महिनापछि उनले टिकटक, फेसबुक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा दिनकै भिडिओ हाल्न थाले।

त्यही बेला उनलाई आफूले भारतमा हुँदा बनाउन प्रयास गरेको राइस बर्गर याद आयो।

‘मैले रेस्टुरेन्ट खोलेँ भने यस्ता नयाँ खाजा राख्छु भन्ने सोच पहिल्यै थियो,’ उनले भने।

उनले राइस बर्गरबारे बजार बुझे। काठमाडौं नपाएपछि उनले आफै बनाउने निधो गरे।

राइस बर्गर बनाएपछि उनले केही व्यक्तिलाई चखाए। स्वाद मिठो थियो। तर खाने बेलामा भात फुट्यो। फुरूरू भात खसेपछि खान समस्या भयो।

rice-burger3-1767715351.jpeg
rice-burger4-1767715351.jpeg

उनले रेस्टुरेन्टमा खाली भएका बेला नफुट्ने गरी राइस बर्गर बनाउन बारम्बार कोसिस गरे। यो गतिविधिका भिडिओ सामाजिक सञ्जालमा राखे। यसबाटै उनले चर्चा र सुझाव पाउँदै गए।

अन्ततः धेरै प्रयासपछि उनले आफ्नो गल्ती पत्ता लगाए।

‘सामान्य चामलबाट बनाएकाले फुटेको रहेछ। जापानतिर डल्लो डल्लो आकारको स्टिकी (टाँसिने) चामल प्रयोग हुने रहेछ,’ प्रकाशले भने।

चामल फेला पारेपछि उनले त्यसलाई कुकरमा पकाए। गोलो, च्याप्टो आकार दिए र फ्राई गरे। भात फुट्ने समस्या समाधान भयो।

यसपछि उनले व्यावसायिक रूपमा मेनुमा राइस बर्गर समेटे।

‘पहिलो दिन १५ जनाले खाएका थिए। सोचेभन्दा धेरैले मनपराए,’ उनले भने।

अहिले यो बर्गर तीन थरी स्वादमा पाइन्छ — सादा, चिज राखिएको र अन्डा राखिएको।

सादाको भाउ हाल १४० रूपैयाँ पर्छ भने चिज राखेको १६० र अन्डाको २२० रूपैयाँ पर्छ।

rice-burger6-1767715351.jpeg
rice-burger8-1767715351.jpeg

प्रकाशको रेस्टुरेन्टमा प्रायः १५ देखि ३० वर्ष उमेरका मानिस धेरै आउँछन्। शुक्रबार र शनिबार अरू बेलाभन्दा धेरै ग्राहक हुन्छन्।

आसपासका मानिसहरू पनि यहाँका नियमित ग्राहक हुन्। आजभोलि उनका भिडिओ हेरेर पनि ग्राहक पुग्न थालेका छन्।

खासगरी विद्यार्थीको बसाइ भएकाले खाजाको मूल्य किफायती राखेको उनी बताउँछन्।

‘दिनमा पाँचदेखि १० हजार रूपैयाँ आम्दानी भइरहेको छ,’ उनले भने, ‘तर सामानको भाउ उकालो लागिरहेको छ। अहिलेको दरमा दिन मुस्किल हुने देखिएको छ।

हाल टेस्ट अफ लियानाका सेफ, वेटर, क्लिनर जे भने पनि प्रकाश आफै हुन्।

यसबाहेक हरेक दिनजसो सामाजिक सञ्जालमा भिडिओ पनि हाल्छन्।

‘समय मिलाउन निकै गाह्रो भइरहेको छ। चाँडै कर्मचारी राख्ने सोचमा छु,’ प्रकाशले भने, ‘त्यस्तै खाजाको नयाँ परिकार ल्याउने पनि सोच छ।’

rice-burger5-1767715982.jpeg

साभार : सेतोपाटी डटकम, आर्या श्रेष्ठ, काठमाडौं, २०८२, पुस २३, बुधबार

Purwanchal.com
Purwanchal.com
Articles: 42

Leave a Reply

Your email address will not be published. Required fields are marked *