फोहोर फूलबाट धुप बनाउने सुषमा शर्मा: फूलप्रसादको प्रेरणादायी यात्रा

Tata box 1

तीन दशक जागिरे जीवन बिताएपछि काठमाडौंकी सुषमा शर्मालाई उद्यम गर्ने इच्छा जाग्यो।

केही फरक र अरूले नगरेको काम गर्न उनले जागिर छाडेरै तीन महिना बजार अध्ययन गरिन्।

यही क्रममा उनको दिमागमा आयो फूल।

सामान्यतया कुनै पनि फूल एक पटक मात्र प्रयोग हुन्छ। त्यसपछि त्यो फूल खेर जान्छ। सुषमाले त्यही खेर जाने फूलको धूप बनाएर नयाँ जीवन दिने सोचिन्।

‘म नियमितजसो पूजा गर्न मन्दिर गइरहन्थेँ। फूलपाती कुहिएको, खोलामा बगेको देख्दा मन भारी हुन्थ्यो,’ उनले भनिन्, ‘यी फूललाई नयाँ जीवन दिन सकिन्छ कि भन्ने लाग्यो।’

Laxmi bank

यो करिब पाँच वर्षअघिको कुरा हो। 

सुषमाले फूलबाट धुप बनाएको एउटा भिडिओ भेटिन्। त्यसपछि विभिन्न धुप उद्योगमा पुगेर प्रक्रिया बुझिन्। धेरैले ताजा फूल नै प्रयोग गरेको देखिन्।

उनलाई भने खेर जाने फूलकै पुनः प्रयोग गर्नु थियो। त्यसैले मन्दिरबाट निस्किने फूल प्रयोग गर्ने निधो गरिन्।

‘धुप बनाउन फूलको धूलो बनाइन्छ। ताजा र मन्दिरबाट निकालिएको फूलमा खासै फरक हुँदैन,’ उनले भनिन्।

यसपछि उनले केही फूल ल्याएर परीक्षण गरिन्। नतिजा राम्रो आयो।

अनि उनले दर्ता गरिन् ‘फूलप्रसाद प्रालि’।

fulprasad (10).jpg
fulprasad (4).jpg

मन्दिरको प्रसाद मानिने फूलबाट बनाइने धुप भएकाले नाम फूलप्रसाद राखेको सुषमा बताउँछिन्।

फूलप्रसादको मूल सन्देश ‘फ्रम वेस्ट टु वर्थ’ अर्थात् फोहोरबाट मोहोर हो।

यसका पाँच उद्देश्य छन् — वनस्पति प्रयोग, वातावरणमैत्री अभ्यास, हाते धुप उत्पादन, सम्पदा क्षेत्रको सरसफाइ र महिलाको आर्थिक सशक्तीकरण।

सुषमा फूलप्रसाद सुरू गर्न चार लाख रूपैयाँ लगानी गरिन्। पहिले पाँच जना महिलालाई तालिम दिइन्। परीक्षणका रूपमा बनाइएका धुप छरछिमेकीलाई बाँडिन्। सकारात्मक प्रतिक्रिया पाएपछि प्याकेजिङ र ब्रान्डिङमा लागिन्।

उनको व्यावसायिक यात्रा सुरू हुन नपाई कोरोना महामारी फैलियो। लकडाउन भएपछि व्यवसाय ठप्प भयो।

तर सुषमाले त्यो समय निराशामा होइन, तयारीमा बिताइन्। धुपका प्रकार, प्याकेजिङ, अन्तर्राष्ट्रिय बजार र ब्रान्डिङबारे अध्ययन गरिन्।

लकडाउन खुकुलो भएपछि काठमाडौं विशालनगरस्थित आफ्नै घरमा महिलाहरूलाई तालिम दिँदै काम अघि बढाइन्।

२०७५ सालदेखि फूलप्रसादले मन्दिरमा चढाएको फूललाई सुगन्धित धुपमा रूपान्तरण गरेर फेरि मन्दिरमै फर्काउन थाल्यो।

‘अहिले पशुपतिनाथ, गुह्येश्वरी लगायत मन्दिरबाट दैनिक सयौँ किलो फूल संकलन हुन्छ। फूल मलाई लेखिएका ढ्वाङ राखेर चाडपर्वमा अभियान नै चलाइरहेका छौं। अहिले स्थानीय तहसँग पनि सहकार्य छ,’ उनले भनिन्।

fulprasad (2).jpg
fulprasad (8).jpg

संकलित फूल विशालनगर र कपनमा रहेको कारखानामा प्रशोधन हुन्छ।

सयपत्री, चन्दन, बेलपाती, तितेपाती, कपुर आदिबाट बटुवा, सिन्के र कोण धुप बन्छ।

‘बाटेको (बटुवा) धुप बाल्ने संस्कृति हराउँदै गएको जस्तो लागेर हामीले यसैलाई प्राथमिकता दिएका छौं,’ सुषमाले भनिन्।

फूलप्रसादले धुप अड्याउने टेको (स्ट्यान्ड) सहित पूजा, सप्ताह आदिमा लैजान ‘गिफ्ट बक्स’ पनि बनाउँछ।

यसरी उत्पादित धुप फूलप्रसादको आधिकारिक फेसबुक पेज, वेबसाइट र काठमाडौं उपत्यकामा रहेका ‘सेल्स बेरी’ हरूमा किन्न पाइन्छ।

फूलप्रसादका धुप अमेरिका र अस्ट्रेलियासहित चार देशसम्म पुगिसकेको उनले बताइन्।

‘अहिले वार्षिक एक करोड रूपैयाँ हाराहारीको कारोबार भइरहेको छ,’ उनले भनिन्।

अहिले सयभन्दा बढी महिला फूलप्रसादसँग जोडिएका छन्। सुस्मा ‘विमेन क्यान’ नामक संस्था मार्फत तालिम पनि दिन्छिन्।

‘फूलप्रसादको उद्देश्य महिलालाई आत्मनिर्भर बनाउनु पनि हो, जहाँ महिलाहरू घरमै बसेर धुप बनाएर आम्दानी गरिरहेका छन्,’ ५८ वर्षीया सुषमाले भनिन्, ‘सक्षम महिला भएको घर बलियो हुन्छ।’

उनले थपिन्, ‘जागिरे जीवनमा एकोहोरो भइन्छ। एकपछि अर्को लक्ष्यका पछि दौडिनुपर्छ। थुप्रै क्षेत्रमा कामको अनुभव भए पनि उद्यममा धेरै ढिलो आएँ जस्तो लागेको छ। तैपनि काममा उत्साहित छु।’

(फूलप्रसादको वेबसाइटका लागि यहाँ र फेसबुकका लागि यहाँ क्लिक गर्नुहोस्)

साभार : सेतोपाटी डटकम, सविना कार्की, काठमाडौं, २०८२ पुस २१, सोमबार

Purwanchal.com
Purwanchal.com
Articles: 42

Leave a Reply

Your email address will not be published. Required fields are marked *