लोकल चिप्सबाट ‘चिप्सी मिक्सी’सम्म: दुई युवाको नयाँ स्वाद र सफल स्टार्टअप कथा

सानै उमेरदेखि व्यापारको सपना बोकेका दुई युवाले साधारण लोकल चिप्सलाई रमाइलो र स्वादिलो खाजामा रूपान्तरण गरेका छन्।

उनीहरूले प्याकेटमा बेचिने चिप्समा विभिन्न चिज मिसाएर प्लेटमा पस्किएर दिने परिकार बनाएका हुन्।

र, यो परिकारलाई नाम दिएका छन् —चिप्सी मिक्सी।

चिप्सी मिक्सी खाजाघर टोखा, बानियाँटारमा छ। यो पसल अंकित भण्डारी र आयाम सापकोटाले साढे तीन महिनाअघि मात्र सुरू गरेका हुन्।

Laxmi bank

आलुको परिकारमा जोड दिएकाले उनीहरूले चिप्सी मिक्सीको लोगो आलुले ढाका टोपी लगाएको बनाएका छन्।

‘चिप्समा अरू विभिन्न खानेकुरा मिक्स गरेर नयाँ परिकार बनाइने भएकाले चिप्सी मिक्सी नाम राखेका हौं,’ २६ वर्षीय अंकितले भने, ‘नेपालमै पहिलो पटक लोकल चिप्सका विभिन्न परिकार पाइने ठाउँ खोलेका हौं।’

यहाँ चिकेन, ससेज र अन्य विभिन्न खानेकुरामा चिप्स मिलाएर खाजा बनाइन्छ। विशेष परिकार भनेको चिप्सी मिक्सी स्पेसल हो जुन शाकाहारी र चिकेन दुवै स्वादमा पाइन्छ। यसमा विभिन्न मसला, सस, उसिनेको मकै, ससेज र चिकेन हुन्छ। भेगनमा भने शाकाहारी चिजबिज मात्र हालिन्छ।

त्यस्तै, यहाँ चिप्स राखेर बनाएको भेगन र चिकेन रोल पाइन्छ। चिप्स चटपटे, चिकेन चिप्स चटपटे र इन्द्रचोकको पसलको जस्तै लस्सी पनि पाइन्छ। लस्सी इन्द्रचोककै पसलका एक कामदारले बनाउन सिकाइदिएको अंकितले बताए।

chipsy-mixy3-1766416197.jpg
chipsy-mixy10-1766416200.jpg
Ncell

‘हामीकहाँ ग्राहकले नै सेल्फ–मेड चिप्सी मिक्सी पनि बनाउन सक्छन्। त्यसमा आफूलाई मनपर्ने चिप्स, चिकेन, ससेज र अन्य विभिन्न परिकार थप्न पाइन्छ,’ उनले भने।

यहाँ ४० भन्दा बढी थरी चिप्स किन्न पाइन्छ। परिकारहरूको मूल्य ७० रूपैयाँदेखि दुई सय रूपैयाँसम्म पर्छ।

ग्राहकहरू धेरैजसो कलेज र स्कुलका विद्यार्थी भएकाले मूल्य किफायती राखिएको अंकितको भनाइ छ।

‘यो ठाउँ र यहाँको खाजा मानिसहरूलाई नयाँ लागेकाले टिकटकमा धेरै चर्चित छ। यहाँ टाढा टाढाबाट पनि मानिसहरू आउँछन्,’ उनले भने, दैनिक १५ हजारदेखि २० हजार रूपैयाँसम्मको कारोबार भइरहेको छ।’

चिप्सी मिक्सी दिउँसो १२ बजेदेखि राति ८ बजेसम्म खुल्छ। कहिलेकाहीँ भने चिप्सको स्टक सकिएर छिट्टै बन्द गर्नुपर्ने अंकित‍ले बताए।

हाल चिप्सी मिक्सीमा तीन जनाले काम गरिरहेका छन्।

यसरी नयाँ काम थालेका अंकित र आयाम दुवै पहिल्यैदेखि व्यापार–व्यवसायमा रूचि राख्थे। उनीहरू दुवै स्कुले साथी हुन्।

दुवैले प्लस–टूमा कम्प्युटर साइन्स विषय पढे।

chipsy-mixy12-1766416202.jpg
chipsy-mixy8-1766416199.jpg

प्लस–टूपछि आयाम कान्तिपुर कलेजमा स्नातक र अंकित डिएभी कलेजमा बिबिए पढ्न थाले।

‘मेरो विदेश जाने प्रयास असफल भयो। त्यसलाई प्रेरणा मानेर नेपालमै केही गर्ने सोच आयो,’ अंकितले भने।

उनीहरूलाई केही नयाँ काम पनि गर्नुपर्छ भन्ने लाग्यो। सानो लगानी गर्न पनि खास समस्या थिएन। उनीहरूलाई खानेकुरामै रूचि थियो। त्यसैले बजारमा के खानेकुराको माग धेरै छ भनेर बुझ्न थाले। विभिन्न परिकारमध्ये चिप्स पनि एउटा पाए।

उनीहरूले त्यसलाई नयाँ तरिकामा कसरी बजारमा ल्याउन सकिन्छ भनेर खोजबिन गरे। उनीहरूले चिप्सबाट थरीथरी परिकार बनाए।

‘चिप्स त सबैतिर पाइन्छ। हामीले त्यसलाई नयाँपन दिएका हौं,’ अंकितले भने, ‘नयाँ स्वाद भएकाले ग्राहकले रूचाएका छन्।’

अब उनीहरू काठमाडौंका अन्य ठाउँमा पनि चिप्सी मिक्सी खोल्ने योजनामा छन्।

‘लोकल चिप्सलाई धेरै तरिकामा पस्किएर ठूलो बजार बनाउने सपना छ,’ अंकितले भने।

सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी

chipsy-mixy7-1766416199.jpg
chipsy-mixy11-1766416201.jpg
chipsy-mixy9-1766416200.jpg
chipsy-mixy6-1766416198.jpg
chipsy-mixy2-1766416196.jpg

साभार : सेतोपाटी डटकम, आर्या श्रेष्ठ, काठमाडौं, २०८२ पुस १०, बिहीबार

Purwanchal.com
Purwanchal.com
Articles: 40

Leave a Reply

Your email address will not be published. Required fields are marked *