भोटाहिटीको २८ वर्ष पुरानो ‘राजेन दाइको मःम पसल’ — पानीमै उमालेर पकाइने अनौठो शैलीको मःम

Laxmi bank

भनिन्छ— काठमाडौंका हरेक गल्लीमा मःम पसल हुन्छ! 

ठूला भाँडामा बाफ्फिएर पाकेको मःमले पारखीहरूलाई नलोभ्याउने कुरै भएन!

काठमाडौंको यस्तै एक गल्लीमा मानिसहरूलाई तानिरहेको छ ‘राजेन मःम पसल’ ले।

यसका खास दुइटा विशेषता छन्।

पहिलो — काठमाडौं, भोटाहिटीस्थित यो पसल करिब तीन दशक पुरानो हो। राजेन्द्र श्रेष्ठ र उनकी श्रीमती भाग्यरथी श्रेष्ठले २८ वर्ष अगाडि करिब ३० हजार रूपैयाँ लगानीमा खोलेका हुन्।

दोस्रो — यहाँ अरू पसलमा जस्तो मःम पानीको बाफमा पकाइँदैन। बरू भकभक उम्लेको पानीमा सिधै मःमका डल्ला हालिन्छ र त्यसरी नै पाक्न दिइन्छ।

अलि फरक खालको मःम बनाउने सोचेर राजेन्द्रले यसरी पकाउन सुरू गरेको उनका छोरा रवीन्द्रले बताए।

Ncell

‘बुबालाई नयाँ तरिकाबाट मःम बनाउन मन थियो। अरूले भाँडामा पानी तताएर त्यसको बाफबाट मःम पकाउँछन्। बुबाले सिधै पानीमा उमालेर पकाउनुभयो,’ रवीन्द्रले भने।

हाल ६२ वर्ष पुगेका राजेन्द्र र भाग्यरथीसँगै यो मःम पसल अहिले छोरा रवीन्द्रले सम्हालिरहेका छन्।

momo1-1765475643.jpgrajen-momo-shop4-1765475655.jpg

सुरूमा राजेन्द्रले विभिन्न व्यवसाय गरेका थिए। बिहेअघि भोटाहिटीमै पोस्टर पसल थियो। पछि किराना पसल चलाए। केही समयम दूध पनि बेचे।

पछि श्रेष्ठ दम्पतीले घरमै नेवारी खाजाका परिकार बनाएर बेच्न थाल्यो। उनीहरूको खाजाघर वरपर छिमेक र पसल चलाउनेहरूको अड्डा बन्यो। बिस्तारै उनीहरूले नयाँ परिकार थप्ने सोचे।

त्यो बेला टोलटोलमा मःम फैलिँदै थियो। खाजा के खाने भनेर सोध्दा सबैजसोको जबाफ हुन्थ्यो— मःम।

श्रेष्ठ दम्पतीलाई पनि बफ मःमले लोभ्याइसकेको थियो। त्यसैले उनीहरूले पसल सुरू गरेको केही वर्षमै मःम बेच्ने निधो गरे। त्यही बेला राजेन्द्रले नयाँ शैलीमा मःम पकाउन थालेका हुन्।

‘बुबाले अरूले जे गरे, त्यो गर्नुभएन। उमालेको पानीमा मःमका डल्ला हालेर नयाँ तरिकाले पकाउनुभयो। त्यसरी छिटो पाक्थ्यो। हेर्दा पनि चिल्लो टल्किने देखिन्थ्यो,’ रवीन्द्रले सुनाए।

यसरी श्रेष्ठ परिवारको खाजाघर मःमले चिनिन थाल्यो। खान आउनेहरू स्थानीय भएकाले सबैजसोले राजेन्द्रलाई राजेन दाइ भन्थे। बिस्तारै पसलको नाम नै ‘राजेन दाइको मःम पसल’ भयो। श्रेष्ठ परिवारले पनि यही नाम अपनायो।

अहिले पनि यहाँ यसैगरी पानीमा उमालेर पकाएको मःम पाइन्छ।

रवीन्द्रका अनुसार यसरी पकाइएको मःमको पिठो राम्रोसँग पाक्छ र त्यसमा हुने ‘ग्लुटन’ पनि पग्लिन्छ। ग्लुटन भनेको गहुँ, जौ जस्ता अन्नबालीमा पाइने एक किसिमको प्रोटिन हो। कतिपय मानिसलाई यो राम्ररी पच्दैन र पेट दुख्ने, फुल्ने, ग्यास्ट्रिक हुने लगायत समस्या देखिन्छ। 

momo3-1765475645.jpg
rajen-momo-shop3-1765475654.jpg

‘पानीमा उमालेर पकाएको भएकाले हाम्रो मःम खाँदा यस्तो समस्या हुँदैन,’ रवीन्द्रले भने।

राजेन्द्र र भाग्यरथीका एक्ला छोरा हुन् रवीन्द्र। उनको बाल्यकाल आमाबुबासँग मःम पसलमै बित्यो। प्लस–टू पढिसकेपछि उनी पूर्ण रूपमा पसल सम्हाल्न लागे।

आमाबुबाको व्यवसायलाई अझ बलियो र व्यवस्थित बनाउने सोच रवीन्द्रको थियो। त्यसैले उनले स्नातक पनि बिजनेस विषय लिएर पढे।

अहिले उनी, आमा, बुबा र दुई जना कर्मचारी मिलेर पसल चलाइरहेका छन्। यसबीच पसल भोटाहिटीकै विभिन्न गल्लीमा सर्‍यो। अहिले भएको ठाउँमा ११ वर्षअघि आइपुगेको हो। पछि यसलाई नयाँ ठाउँमा सार्ने रवीन्द्रको उनको सोच छ।

यहाँ ग्राहक आएपछि मात्र मःम बनाउन थालिन्छ। त्यस कारण कतिपय ग्राहक समयलाई लिएर गुनासो पनि गर्छन्।

उनीहरू बिहान दस बजेदेखि नै मःम बनाउने तयारीमा लाग्छन्। दैनिक १० देखि १२ किलो बफ मासुको मःम बन्छ। एक प्लेटको एक सय बीस रूपैयाँ पर्छ। ग्राहकहरू धेरै आउजाउ दिउँसो १ बजेदेखि ४ बजेसम्म बढी हुन्छन्।

त्यस्तै यहाँ छोयला खान आउनेहरू पनि धेरै छन्। अनि छेउमा रहेको वीर अस्पतालका डाक्टरहरू यहाँ कफी खान आउने रवीन्द्रले बताए।

‘गल्लीभित्र भए पनि गुगल म्यापमा राजेन दाइको पसल भनेर खोज्दा भेटिन्छ। स्थानीय बाहेक अरू ग्राहक गुगल म्याप हेरेरै आउँछन्,’ रवीन्द्रले भने, ‘कहिलेकाहीँ विदेशीहरूका समूह पनि पानीमा पकाएको मःम खान आउँछन्। पुराना ग्राहक पनि यहाँ फर्की फर्की आउँछन्।’

newari-khaja1-1765475648.jpg
momo4-1765475647.jpg
chhoila-1765475643.jpg
newari-khaja4-1765475652.jpg
newari-khaja3-1765475650.jpg
newari-khaja2-1765475649.jpg
rajen-momo-shop1-1765475652.jpg
rajen-momo-shop5-1765475657.jpg
rajen-momo-shop2-1765475654.jpg

साभार : सेतोपाटी डटकम, आर्या श्रेष्ठ, काठमाडौं, २०८२ मंसिर २६, शुक्रबार

सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी

Purwanchal.com
Purwanchal.com
Articles: 42

Leave a Reply

Your email address will not be published. Required fields are marked *