बदिया भाले पालन: दाङदेखि राजधानीसम्म — व्यावसायिक बदिया भाले व्यवसायको कथा

कमलजंग ठकुरीले भाले कुखुरा बेचेर बर्सेनि ३५ देखि ४० लाख रूपैयाँ आम्दानी गर्दै आएका छन्। उनी वार्षिक सरदर एक हजार वटा भाले बेच्छन्।

कमल बदिया भालेको कारोबार गरिरहेका छन्। लोकल भाले चार महिनाको पुगेपछि (बास्न थालेपछि) बन्ध्याकरण गरी अण्डकोष निकालेर खसी पारिएको भालेलाई ‘बदिया’ भनिन्छ। यस्तो भालेको मासु मानिसहरूले रूचाउँछन्।

Laxmi bank

‘बदिया बनाएर निश्चित अवधि पालेर बेच्दा सामान्य भालेको भन्दा दोब्बर मूल्य आउँछ। यस्तो भालेको मासु खँदिलो र स्वादिलो हुन्छ,’ कमलले भने।

दाङको लमही नगरपालिका–५ का कमलले बदिया भाले व्यावसायिक रूपमा बेच्न थालेको ६ वर्ष भयो।

कमलले उत्पादन गर्ने बदिया भाले काठमाडौं, बुटवल, पोखरा, चितवन, नेपालगन्ज, धनगढी लगायत प्रमुख सहरमा उच्च मागका साथ बिक्री हुन्छ। ठूला होटलदेखि उच्च घरानाका मानिस बदिया भालेका प्रमुख ग्राहक हुन्।

४५ वर्षीय कमल पहिले अटोमोबाइल्स क्षेत्रमा थिए। बाइस वर्षसम्म उनले लमहीमा विभिन्न कम्पनीका शो–रूमहरू चलाए। त्यो छाडेर उनले भाडामा घर लिएर एकल लगानीमा ‘होटल आश्रय’ र साझेदारसँग मिलेर ‘ऊँ स्वीट हाउस’ खोलेका छन्।

यी दुवै व्यवसाय पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–५ को सडक खण्डमै पर्छन्।

‘होटल र मिठाइ पसल दुवै राम्रो चलेका छन्,’ कमलले भने।

kamaljung-thakuri2-1765384222.jpg
Ncell
kukhura4-1765384229.jpg

लुम्बिनी प्रदेशको राजधानी नजिकै हुनु र भारतसँग जोडिने लमही–कोइलाबास नाका यही मार्गमा पर्ने भएकाले प्रदेशभरका नेता, कार्यकर्ता, मन्त्री, सर्वसाधारणदेखि भारतीय पाहुनासम्मलाई लक्ष्य गरी स्तरीय होटल र मिठाइ पसल खोलेको उनले बताए।

‘कोइलाबास नाका हुँदै आउने भारतीय पाहुनाले राम्रो मिठाइ खोज्दा यहाँ विकल्प कम थियो,’ उनले भने, ‘हामीले खोलेको मिठाइ पसलले अहिले राम्रै पहिचान बनाइसकेको छ।’

यसरी विभिन्न व्यवसायमा सक्रिय कमल बदिया भाले पालनमा लागेको भने सोखले हो। 

उनलाई मासु मनपर्छ, त्यसमा पनि बदिया खान थालेपछि अरू खास मनपरेन। पछि उनले आफूजस्तै अरू मानिस पनि भेटे। उनीहरू थारू बस्तीमा बदिया भाले खोज्दै हिँड्थे।

कमलले पनि सानो छँदा थारू समुदायमा खासगरी सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकलाई बदिया भाले खुवाएको देखेका थिए। उनी आफैले पनि धेरैपटक चाखे। पछि पनि बेलाबखत खाँदा बदिया भालेको स्वादले उनलाई लोभ्याउँदै लग्यो।

त्यसपछि उनले परम्परागत सीप भएका व्यक्तिलाई बोलाएर घरमै पालिएका भालेलाई बदिया बनाउन लगाए। आफूले खानेसँगै केही बेच्न पनि थाले।

यसरी चल्दै गर्दा उनलाई लाग्यो — बदियाको माग राम्रो छ। बेच्दा धेरै फाइदा हुने रहेछ!

उनले तुरून्तै घरसल्लाह गरी बुह्रान बहुउद्देश्यीय कृषि फर्म दर्ता गरे। अनि लमही–६ देउपुरस्थित आफ्नै ३० कट्ठा जमिनमा व्यावसायिक रूपमा बदिया भाले पाल्न थाले।

‘अन्न खाने खेत मासेर कुखुरा पालेको भनेर सुरूसुरूमा घरगाउँकाले गाली गरे,’ कमलले सुनाए, ‘तर म आफ्नो लक्ष्यमा अडिग रहेँ।’

kamaljung-thakuri1-1765384221.jpg
kukhura7-1765384231.jpg

त्यसरी सुरू भएको फर्मबाट अहिले वर्षमा एक हजार वटाभन्दा बढी भाले बिक्छ। एउटा भालेको कम्तीमा तीन हजार पाँच सय रूपैयाँ पर्छ।

‘वर्षमा ३५ देखि ४० लाख रूपैयाँसम्मको कारोबार हुन्छ,’ कमलले भने।

बदिया भाले पाल्न उनले विशेष सावधानी अपनाएका छन्। वरिपरि सिमेन्टको पक्की पर्खालमाथि अग्लो जाली छ। लमही क्षेत्र गर्मी भएकाले उनले आधा जमिनमा टिकका बिरूवा रोपेका छन्। गर्मीमा भाले रूखमुनि छायामा बस्छन्, चिल–बाज जस्ता चराबाट जोगिन्छन् पनि। चल्ला भने घरनजिकै ८ कट्ठा जमिनमा हुर्काइन्छ। 

सर्प र मुसाबाट भाले जोगाउन उनले फर्मभित्र केही टर्की र केही रज हाँस पनि पालेका छन्।

‘टर्की भए सर्प र रज हाँस भए न्याउरी मुसो भित्र आउन डराउँछ,’ उनले भने।

उनले फर्ममा दुई जनालाई रोजगारी दिएका छन्। 

कमलले ६ वर्षदेखि एक साझेदारसँग मिलेर ह्याचिङ उद्योग पनि चलाइरहेका छन्। त्यहाँ मेसिनमा अण्डा राखेर चल्ला निकालिन्छ। एक दिनका चल्ला सय रूपैयाँ र एक महिनाका चल्ला दुई सय रूपैयाँमा बेच्छन्।

संक्रमण नहोस् भनेर ह्याचिङ फर्म, चल्ला हुर्काउने स्थान र बदिया भाले पालन क्षेत्र छुट्टाछुट्टै बनाएको उनले बताए।

‘एकै ठाउँमा सबै काम गर्न सम्भव छैन,’ उनले भने, ‘त्यसो गर्दा रोगको जोखिम धेरै हुन्छ।’

बदिया सामान्य कुखुराझैं पाल्न सकिन्छ। सरसफाइमा भने विशेष ध्यान दिनुपर्छ।

hen-kukhura-1765384221.jpg
eggs-1765384220.jpg

उनको घरमा केही माउ कुखुरा पनि छन्। उनीहरूलाई प्राकृतिक वातावरणमै ओथारो बस्न दिएर चल्ला उत्पादन गर्छन्।  

कमल बदियालाई स्थानीय स्तरमै उत्पादन हुने मकै, धान लगायत अन्नबाली खुवाउँछन्। फर्मभित्रकै एक कुनामा तारबार गरेर बदियाका लागि तोरी, मकै खेती गरेका छन्।

बदिया भालेका लागि बजार अभाव छैन, बरू माग धान्न मुस्किल छ। 

उनी आफ्नो ह‍ोटलमा पनि बदिया भालेको परिकार पस्किन्छन्। पूर्व–पश्चिम राजमार्गमा रहेको उनको होटल बदिया भालेको बिक्री केन्द्रजस्तै बनेको छ।

कमलका अनुसार खसी बनाएको ६ महिनापछि मात्र बदिया भाले उपयुक्त हुन्छ। नभए त्यसको स्वाद राम्रो हुँदैन।

‘पैसा पाइयो भन्दैमा समय नपुगी बेच्नु भनेको आफ्नो व्यवसाय र दाङको पहिचान बोकेको बदिया भालेको बदनाम गर्नु हो,’ उनले भने।

अहिले दाङभरमा फुटकर रूपमा तयार पार्नेसहित दुई हजारदेखि बाइस सय वटा बदिया भाले बर्सेनि उत्पादन हुने उनले जानकारी दिए।

कमल देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष पनि हुन्। मेला–महोत्सवमा प्रचारप्रसारका लागि बदिया भाले राख्छन्, विशिष्ट पाहुनालाई उपहार पनि दिन्छन्।

भविष्यमा आफ्नो फर्म अझ व्यवस्थित र व्यावसायिक बनाउँदै वार्षिक पाँच हजार भाले उत्पादन तथा बिक्री गर्ने उनको लक्ष्य छ।

‘बदिया भालेबाट वर्षमा एक करोड रूपैयाँभन्दा बढीको कारोबार गर्ने सपना छ,’ कमलले भने।

kukhura-bhale-1765384225.jpg
turkey-1765384232.jpg
kukhura6-1765384230.jpg
duck-haans-1765384220.jpg

साभार : सेतोपाटी डटकम, नारायण खड्का, दाङ, २०८२ मंसिर २५

Purwanchal.com
Purwanchal.com
Articles: 42

Leave a Reply

Your email address will not be published. Required fields are marked *