‘थैलो’: आयातीत झोला बेच्दै आएका घनश्याम चौधरीको आफ्नै नेपाली ब्रान्डको सफल यात्राको कथा

घनश्याम चौधरीले एक दशकभन्दा बढी समय आयातीत झोला (ब्याग) बेचे।

उनी चीन र थाइल्यान्डबाट ठूलो परिमाणमा ब्याग ल्याउँथे। अनि यहाँ विभिन्न होलसेल बिक्रेतालाई बेच्थे। काठमाडौं उपत्यकामा तीन ठाउँमा उनका पसल थिए।

जब देशमा कोरोना फैलियो, उनको व्यवसाय ठप्प भयो। आयात रोकिएपछि केही महिना उनी अलमल परे।

Laxmi bank

जहाँ समस्या त्यहाँ उपाय भनेझैं उनले व्यवसायका लागि नयाँ बाटो निकाले।

उनले ब्यागको आफ्नै नेपाली ब्रान्ड बनाउने सोचे।

‘ब्याग आयात रोकिएपछि व्यवसाय चौपट भयो,’ घनश्यामले भने, ‘तर व्यवसायले अर्को मोड लियो। नेपाली ब्रान्डको सुरूआत भयो।’

दुई वर्षअघि उनले आफै झोला उत्पादन गरेर ब्रान्ड नाम राखे — थैलो।

थैलो भनेको झोला नै हो। तर अचेल यसको पहिचान एकातिर मुख खुला राखेर सिलाइएको, तुना बाँध्ने शैलीको झोला भनेर बुझिन्छ। जे भए पनि थैलो नेपाली शब्द भएकाले यसैलाई आफ्नो ब्रान्डको नाम बनाएको घनश्यामले बताए।

‘नेपालीपन महसुस गराउन थैलो नाम जुराएको हुँ,’ उनले भने।

वर्षौं आयातीत झोला बेचिरहेका उनलाई स्वेदशमा उत्पादित ‘थैलो’ बजारले रूचाउने हो कि होइन भन्नेमा दुविधा थियो। तर यो दुविधा पहिलो उत्पादनबाटै सल्टियो। उनले महिलाले बोक्ने डिजाइनमा ‘मून ब्याग’ बजारमा ल्याए, केही दिनमै सबै बिक्यो।

घनश्यामको आत्मविश्वास बढ्यो। उनी उत्पादन बढाउनतिर लागे।

Ncell

थैलोको दोस्रो डिजाइन बन्यो ब्याक–प्याक। स्कुल, क्याम्पस, कार्यालय वा जहाँ जाँदा पनि बोक्न मिल्ने यो ब्यागको माग सोचेभन्दा राम्रो भयो।

अहिले थैलोले महिला र पुरूषले बोक्न मिल्ने गरी चार थरी झोला उत्पादन गर्छ— मून, फ्यानी, ब्याक प्याक र रोलिङ। सबभन्दा बढी माग हुने ब्याक–प्याक नै हो।

thailo-ladies-bag-1765033414.jpg

यी ब्यागलाई पनि डिजाइन अनुसार यती, हेरिटेज, एरोब्याग लगायत नाम दिइएको छ। थैलोका विभिन्न ब्यागको मूल्य एक हजार ६ सयदेखि तीन हजार रूपैयाँसम्म पर्छ।

घनश्यामले काठमाडौं र बनेपामा यसको कारखाना राखेका छन्।

युवा पुस्तालाई लक्ष्य गरेकाले थैलोका उत्पादन आकर्षक र बोक्न सहज रहेको घनश्याम बताउँछन्।

‘नेपाली ब्रान्ड भन्नासाथ धेरै महँगो हुन्छ भन्ने लाग्ला तर थैलो किफायती छ,’ उनले भने, ‘हाम्रा उत्पादन टिकाउ हुन्छन्, हामी ग्यारेन्टी दिन्छौं।’

थैलोका उत्पादन बिक्रीका लागि उनले काठमाडौंको खिचापोखरीमा एउटा पसल राखेका छन्। पसलमा ९० प्रतिशत थैलो र बाँकी आयातीत ब्याग पाइन्छ।

बिस्तारै आयातीत पूर्ण रूपमा बन्द गर्ने उनको योजना छ। उनी थैलोका नयाँ डिजाइन पनि बनाइरहेका छन्।

घनश्यामका अनुसार हाल मासिक दुई हजार वटाभन्दा बढी थैलो उत्पादन भइरहेको छ।

thailo-bag-1765033413.jpg

थैलोका झोला उनका छोरा राहुलले पनि बेच्छन् तर बुबाको पसलमा होइन। उनले ब्याग बेच्नकै अनलाइन बजार ‘अर्बन स्याचल’ (urban satchel) खोलेका छन्। राहुल र उनका साथी सफल आचार्य यसमार्फत् थैलोका ब्याग बेच्न थालेको दुई वर्ष भयो।

अर्बन स्याचलबाट मासिक एक हजारदेखि १५ सय वटासम्म ब्याग बिक्ने राहुलले बताए।

‘हामी बुबासँग ब्याग किन्छौं र थोरै फाइदा लिएर बेच्छौं,’ राहुलले भने, ‘बुबाको पसलमा म बस्दिनँ। कर्मचारी बस्नुहुन्छ।’


Food Order 2
Vegetable Order 2

आफ्नै प्लेटफर्मबाट बेच्दा राम्रो हुने राहुलको बुझाइ छ।

‘बुबाले गरिरहेकै ठाउँमा गएर सम्हाल्नु ठूलो कुरा होइन। तर हामी छुट्टै प्लेटफर्म बनाएर व्यवसाय बढाइरहेका छौं। यसमा खुसी पनि छौं,’ उनले भने, ‘यो अहिलेको बजारको माग पनि हो।’

राहुल र सफल दुवैको प्लस–टू सकेर अमेरिका जाने सोच थियो। तर दुवैको भिसा मिलेन। अनि उनीहरूले स्वदेशमै पढ्ने र यहीँ केही गर्ने निधो गरे।

‘अरू साथी गए। हामी दुई जनाले भने अब स्वदेशमै केही गर्ने सोच्यौं,’ राहुलले भने, ‘त्यसपछि अर्बन स्याचलको अवधारणा आएको हो।’

thailo-nova-bag-1765033414.jpg

अहिले राहुल र सफल बिबिए (ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन) पढ्दै छन्।

पढाइ र आफ्नो व्यवसायसँगै राहुल बुबालाई पनि सघाउँछन्। ब्यागको डिजाइन र उत्पादन हेरिदिन्छन्। यस कारण घनश्याम फुर्सद मिलाएर सिराहा पुग्छन्। एक वर्षअघि घनश्यामले सिराहामा कृषि कर्म सुरू गरेका छन्।

घनश्याम थैलो बनाउने कच्चा पदार्थ काठमाडौंकै विभिन्न ठाउँबाट जुटाउँछन्।

‘आगामी दिनमा अझै गुणस्तरीय र ठूलो आकारमा झोला ल्याउने योजना छ,’ घनश्यामले भने, ‘डिजाइन र बजार दुवै बढाउँदै लैजाने सोचेका छौं।

साभार : सेतोपाटी डटकम, सविना कार्की, २०८२ मंसिर २१, आइतबार

Purwanchal.com
Purwanchal.com
Articles: 42

Leave a Reply

Your email address will not be published. Required fields are marked *