फर्सी र सूर्यमुखीको बटर बनाउँदै २५ हजार रुपैयाँ मासिक व्यापार

तपाईं फर्सी र सूर्यमुखीको बियाँ फरक रूपमा खान चाहनुहुन्छ भने ‘बाइ.स्प्रेड्स’ राम्रो विकल्प हुन सक्छ।

बाइ.स्प्रेड्स (By.Spreads) फर्सी र सूर्यमुखीको बियाँ (पम्पकिन र सनफ्लावर सिड) खान सजिलो हुनेगरी बटरका रूपमा बजारमा ल्याएको छ।

यो कम्पनी आठ महिनाअघि दाजुभाइ प्रतीक पौडेल र निरूपेश ढुंगानाले खोलेका हुन्।

अहिले संसारभर विभिन्न फल तथा तरकारीको बिउ/बियाँ (सिड) खाने चलन बढेको छ। शारीरिक र मानसिक स्वास्थ्यका लागि अत्यन्तै लाभदायक मानिने बियाँ एक हिसाबले ट्रेन्ड नै बनिसक्यो।

यसैलाई मध्यनजर गर्दै प्रतीक र निरूपेशले फर्सी र सूर्यमुखीको बियाँको बटर बनाउने निधो गरेका हुन्।

by.-spread1-1762858716.jpg

‘बटर भएपछि खान सजिलो भयो, स्वस्थकर पनि भयो,’ उनीहरूले भने।

२५ वर्षीय प्रतीक र २३ वर्षीय निरूपेश ‘कजन’ दाजुभाइ हुन्। उनीहरू सानैदेखि एकापसमा नजिक थिए। तर एकअर्कासँग मिलेर व्यापार सुरू गरौंला भन्ने कहिल्यै सोचेका थिएनन्। न उनीहरूको पढाइ नै व्यवसाय सम्बन्धी हो।

प्रतीकले इस्लिङटन कलेजमा कम्प्युटर विज्ञान र निरूपेशले पुल्चोक इन्जिनियरिङ कलेजमा मेकानिकल इन्जिनियरिङ पढेका हुन्।

निरूपेश थाई बक्सिङका खेलाडी पनि हुन्। बिउ/बियाँको बटर बनाउने आइडिया उनलाई शारीरिक अभ्यासकै क्रममा आएको हो।

‘ट्रेनिङका बेला धेरै क्यालोरी भएको खाना खानुपर्थ्यो। हामी सामान्यतया पिनट (बदाम) बटर खान्थ्यौं,’ निरूपेशले भने, ‘तर कुनैमा चिनी धेरै हुने, कुनै स्वाद नै फरक हुने समस्या भयो। त्यसैले मैले घरमै बटर बनाउने सोचेँ। सबभन्दा पहिले मैले ओखरको बटर बनाएँ।’

by.-spread3-1762858717.JPG

उनले बनाएको बटर साथीहरूले पनि खुब रूचाए। मिठो लागेर एक साथीले पैसा दिएरै किने।

यो चार वर्ष अगाडिको कुरा हो।

त्यति बेला निरूपेशले आफै खान बनाउन थालेको बटरलाई व्यावसायिक रूपमा अगाडि बढा‍ऊँला भन्ने सोचेकै थिएनन्।

‘केही न केही व्यापार गर्ने सोच त पहिल्यैदेखि थियो। केही समय परफ्युमको व्यापार पनि गरेँ,’ निरूपेशले भने, ‘पछि अरू नै के गर्ने भनेर सोच्दा आफैले बनाइरहेको बटर दिमागमा आयो।’

एक वर्षअघि उनले यसबारे दाइ प्रतीकसँग छलफल गरे। दुवैको सोच मिल्यो। दुई जना मिलेर दुई लाख रूपैयाँ लगानी जुटाए र ओखरको बटर बनाए।

तर त्यसको स्वरूप व्यावसायिक रूपमा पठाउने खालको थिएन। ओखरबाट आउने तेल माथिल्लो भागमा बस्ने र तल सुख्खा हुने समस्या थियो।

‘समस्या समाधान नभएपछि हामीले अरू नै चिजको बटर बनाउने सोच्यौं। पिनट बटर त सामान्य भइहाल्यो, बजारमा नभएका अरू स्वादको बनाउन सकिन्छ कि भनेर हेर्‍यौं,’ प्रतीकले भने।

केही समय अध्ययनपछि उनीहरूले अहिले बजारमा धेरै माग भइरहेको फर्सी र सूर्यमुखीको बिउबाट बटर बनाए। यो काम सफल भयो। बटर परिवारका सदस्य र साथीभाइलाई पनि चखाए र सुझाव लिए।

सबै कुरा मिलेपछि उनीहरूले व्यावसायिक रूपमा उत्पादन गर्ने तयारी थाले। कम्पनीको नाम बाइ.स्प्रेड्स राखेर दर्ता गराए। यो प्रक्रियामा भने धेरै समय खर्च भएको उनीहरूले बताए।

बटर उत्पादनको काम उनीहरूले घरकै एक फ्ल्याटमा सुरू गरे। अहिले पनि सबै काम त्यहीँ हुन्छ।

यसरी सुरू भएको बाइ.स्प्रेड्स बटरको उनीहरूले सामाजिक सञ्जालमा प्रचार गरे। बिस्तारै माग आउन थाल्यो। उत्पादन पनि बढ्यो।

उनीहरू सुरूसुरूमा मिक्सर प्रयोग गरेर बटर बनाउँथे। त्यसो गर्दा दिनमा एक–दुई किलो मात्र बनाउन मिल्थ्यो। पछि उनीहरूले ठूलो मेसिन किने। त्यो मेसिनबाट अहिले एक पटकमा ३० किलो बटर तयार हुन्छ।

‘अहिले एक महिनामा २५ किलो बिउ किनेर बटर बनाइरहेका छौं। दुई सय ग्राम तौलमा आउने बटरको मूल्य ६ सय रूपैयाँ पर्छ,’ निरूपेशले भने।

by.-spread2-1762858716.jpg

बटरको स्वाद एकनास भए पनि प्याकेजिङमा कहिलेकाहीँ एकरूपता नहुने उनी बताउँछन्। यसको कारण बटर हाल्ने सिसाको बट्टा आयात गर्नुपर्छ। हरेक पटक ल्याउँदा त्यसको आकार, बिर्कोको रङमा भिन्नता हुने समस्या छ। यसको समाधानका निम्ति विकल्प भने खोजिरहेको उनले बताए।

हाल बाइ.स्प्रेड्समा साताको एक पटक बटर बन्छ। दुवै बटर पम्पकिन र सनफ्लावर सुगरफ्री र ब्राउन सुगरको विकल्पमा उपलब्ध छन्।

यी दुई बटरसँगै उनीहरूले पम्पकिन सिड हालिएको बटरकप–चकलेट पनि उत्पादन गर्न थालेका छन्। फरक स्वादको यो चकलेट एक प्याकेटमा चार टुक्रा हुन्छ। यसको मूल्य हाल ६ सय ५० रूपैयाँ तोकिएको छ।

‘आगामी दिनमा यसरी नै फरक स्वादका अरू चकलेट थप्ने योजना छ,’ प्रतीकले भने, ‘समस्याको समाधान खोज्दै हामी ओखर र अरू स्वादका बटर पनि ल्याउने प्रयासमा छौं।’

अहिले बाइ.स्प्रेड्सको बटर यसको अनलाइन बजारसँगै ललितपुरको झम्सिखेल, काठमाडौंको बौद्ध र महाराजगन्जको फार्म सप र फार्मर्स मार्केटमा पाइन्छ। चकलेट भने अनलाइन बजारमा मात्र उपलब्ध छ।

सबै गरी हाल मासिक पचास हजार रूपैयाँको व्यापार भइरहेको प्रतीक र निरूपेशले बताए।

‘जिम वा खेलकुदमा सक्रिय मानिसहरू हाम्रा ग्राहक हुने सोचेका थियौं। तर यी केही नगर्नेहरूबाटै माग बढेको छ। यसमा पनि मध्यम उमेरका महिला, यहाँ बस्ने विदेशीहरूबाट बढी माग आउँछ,’ उनीहरूले भने।

by.-spread5-1762858719.JPG

साभार : सेतोपाटी डटकम, आर्या श्रेष्ठ, २०८२ कात्तिक २६, बुधबार

Purwanchal.com
Purwanchal.com
Articles: 42

Leave a Reply

Your email address will not be published. Required fields are marked *